राजु लामिछाने
रुकुमपश्चिम, चैत १७ गते। रुकुमपश्चिमको एक कार्यालयको डिजिटल बोर्डमा ‘प्रमिला म तिमीलाई माया गर्छु, साँच्चै माया गर्छु’ लेखिएको तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चित भएको छ।
जिल्लाको आठबिसकोटस्थित नापी कार्यालयको डिजिटल बोर्ड ह्याक भएर यस्तो लेखिएको बताइएको छ।
कार्यालयका प्रमुख मानबहादुर आग्रीले कार्यालयको डिजिटल बोर्ड ह्याक भएर नै असान्दर्भिक कुरा डिस्प्ले भएको जानकारी दिनुभयो। सामाजिक सञ्जालमा उक्त फोटो भाइरल भएको विषयमा उहाँले भन्नुभयो, “म आफन्त बित्नु भएकोले शोकमा छु, कार्यालयको डिजिटल बोर्डमा अनावश्यक कुराहरू प्रशारण भएको जानकारी पाएँ। कसरी भयो, सुनेर अचम्मित भएको छु।”
उहाँले डिजिटल बोर्ड ह्याक भएर नै यस्तो हुन गएको बताउनुभयो। नापी कार्यालय आठबिसकोटमा प्रमिला नामको कोही पनि कर्मचारी नभएको तर उक्त नाम अङ्कित गरेर डिस्प्ले भएको उहाँको भनाइ छ।
यस अघि पनि आठबिसकोटकै एक क्याम्पसको डिजिटल बोर्ड समेत ह्याक भएको उहाँले जानकारी दिनुभयो। कार्यालयको तर्फबाट नभई ह्याकरको कब्जाबाट त्यसो भएकोले त्यसै अनुसार बुझिदिन उहाँले आग्रह गर्नुभयो। अहिले उक्त डिस्प्ले बन्द गरिएको छ।
यस विषयमा आठबिसकोट नगरपालिकाका सूचना अधिकारी इन्द्रबहादुर विष्टले समेत ह्याक भएको हुनसक्ने उल्लेख गर्नुभयो। यस विषयमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराइएको र उक्त सिस्टमसँग सम्बन्धित निकायसँग सोधपुछ गरिने उहाँको भनाइ छ।