• २० चैत २०८१, बुधबार

एमयुमा हुँदै स्ववियु निर्वाचन

blog

बुलबुले समाचारदाता

सुर्खेत, चैत १७ गते । मध्यपश्चिम विश्वविद्यालय (एमयु) केन्द्रीय क्याम्पसमा छ वर्षपछि सोमबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदै छ । विश्वविद्यालयमा क्रियाशील विभिन्न विद्यार्थी सङ्गठनदेखि स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा माहोल बनाउन जुटिसकेका छन् । नौ वटा विद्यार्थी सङ्गठन दर्ता भएकामा सात वटाले मात्रै अध्यक्षमा उम्मेदवारी दिएका छन् । एक जना स्वतन्त्र उम्मेदवार छन् ।

एमयुमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अनेरास्ववियु क्रान्तिकारीबिच प्रतिस्पर्धा हुने अनुमान छ । यसअघि २०७३ साल भदौमा भएको स्ववियु निर्वाचनमा नेविसङ्घका झक्कबहादुर शाही स्ववियु सभापति निर्वाचित हुनुभएको थियो । 

कर्णाली प्रदेशमै केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयमा हुन लागेको स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनका लागि मात्रै नभएर प्रमुख राजनीतिक दलका लागि पनि प्रतिष्ठाको विषय बन्ने गरेको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार केन्द्रीय क्याम्पसमा चार हजार ३८३ जना मतदाता रहेका छन् । जसले १७ सदस्यीय कार्यसमिति चयन गर्ने छन् ।