ज्ञानु पंगेनी
मध्यविन्दु , चैत १२ गते। नवलपरासी पूर्व (नवलपुर) मध्यविन्दु –३ ब्रम्हस्थानमा किसान पद्मबहादुर मोक्तानले लगाएको कुरिलोका बोट देख्दा पनि रहर लाग्दो भएको छ। कुरिलो खेतीको हरियै फाँट देखेर मनै लोभ्याउँछ।
किसान मोक्तानले विगत तीन वर्षदेखि यहाँ कुरिलो खेती गर्दै आउनुभएको छ। उहाँले अहिले पाँच विगाहा क्षेत्रफलमा कुरिलो खेती गर्नुभएको छ। कुरिलो खेतीका लागि २५ लाख रुपियाँ लगानी लागेको उहाँले बताउनुभयो। कुरिलोको विरुवा खनजोत मलजल तथा कामदार समेत गरेर २५ लाख लगानी लागेको उहाँले बताउनुभयो।
अहिले कुरिलोले फल दिन सुरु गरिसकेको छ। त्यसैले पनि उहाँलाई कुरिलो टिप्न, मुठा पार्न अनि बजार पठाउन भ्याइनभ्याई छ। तर किसान मोक्तानलाई कुरिलोको खपत जिल्ला भित्रै गर्न पाए हुन्थ्यो भन्ने लाग्छ। धेरै भन्दा धेरै खपत नवलपुरमै भैदिए आफूले लिएको उद्देश्य पुरा हुने थियो भन्ने उहाँको सोच छ।
कुरिलो स्वास्थ्यका लागि पनि राम्रो मानिने औषधीय गुण भएको र यसमा धेरै विषादीको पनि प्रयोग गर्न नपर्ने हुँदा नियमित रुपमा कुरिलो सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको उहाँ बताउनुहुन्छ। मोक्तानले भन्नुभयो, ‘कुरिलो अन्य तरकारीको तुलनामा केही महँगो छ तर यसको फाइदा पनि धेरै छ। हामी बोइलर कुखुराको मासु खान्छौ तर कुरिलो किन्दैनौ, बोइलरको मूल्य र कुरिलोको मूल्य उस्तै छ। तर हामी मासु किन्छौ कुरिलो किन्दैनौ। हामीले बानी नै पारेका छैनौ।’
लामो समय विदेशी भूमि मलेसियामा पसिना बगाउनु भएका मोक्तान त्यहाँ गरेजति दुःख आफ्नै देशमा गर्नसके कमाउन सकिने बताउनुहुन्छ।