• १५ चैत २०८१, शुक्रबार

बङ्गलादेशी पूर्व कप्तान तमिम इकबाल हृदयाघातपछि निको हुँदै

blog

बङ्गलादेशका पूर्व कप्तान तमिम इकबाल ।

ढाका, चैत १२ गते । बङ्गलादेशका पूर्व कप्तान तमिम इकबाललाई घरेलु खेलका क्रममा हृदयघात भएपछि होसमा आउनुभएको र उहाँले परिवारका सदस्यहरूसँग कुरा गरिरहनुभएको क्रिकेट अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

पचास ओभरको ढाका प्रिमियर डिभिजन क्रिकेट लिगको खेलमा महमदन स्पोर्टिङ क्लबको नेतृत्व गरिरहेका ३६ वर्षीय तमिमलाई सोमबार छातीमा गम्भीर दुःखाइ भएपछि नजिकैको अस्पतालमा लगिएको थियो । “उहाँ अहिले राम्रो हुनुहुन्छ । उहाँले परिवारका सदस्यहरूसँग कुरा गर्नुभयो र अस्पतालमा केही समय हिँड्नुभयो”, क्लबका अधिकारी तारिकुल इस्लामले भन्नुभयो ।

महमदनका फिजियोथेरापिस्ट एनामुल हकले तमिम स्थिर अवस्था रहेको र छिट्टै अर्को चिकित्सा संस्थानमा स्थानान्तरण गरिने सम्भावना रहेको बताउनुभयो । “उहाँको ज्यान बचाउनका लागि हामीले तुरुन्तै अस्पताल जानुपरेको थियो र भाग्यवश हामीले त्यसो गर्यौ”, इनामुलले भन्नुभयो ।

तमिमको उपचार भइरहेको क्षेत्रका मेडिकल निर्देशक राजीब हसनले सोमबार पत्रकारहरूलाई बताए अनुसार अस्पताल पुर्याउँदा तमीमको अवस्था गम्भीर थियो । धमनीको अवरोध हटाउनका लागि तमिमले शल्यक्रिया गरेर स्टेन्ट लगाउनुपरेको पनि उहाँले बताउनुभयो । तमिमको स्वास्थ्य सङ्कटको खबरले क्रिकेट जगतबाट समर्थन पाएको थियो ।

“मेरो भाइ तमिम चाँडै निको होऊन् र खेलमा फर्कून् भनेर कृपया प्रार्थना गर्नुहोस् !”, लामो समयदेखिका टोलीका साथी शकिब अल हसनले सामाजिक सञ्जालमा लेख्नुभयो । तमिमको हृदयाघात शकिबको ३८ औँ जन्मदिनको दिन नै भयो, तर अलराउन्डर यी खेलाडीले यो समाचारका कारण उत्सवमा आनन्द लिन सक्नुभएन । भारतीय क्रिकेटर युवराज सिंहले पनि आफ्नो ‘प्रार्थना र शुभकामना’ दिनुभयो ।

“तिमीले अघि पनि कठिन प्रतिद्वन्द्वीहरूको सामना गरेका छौ र बलियो बनेका छौ, यो पनि त्यस्तै हुनेछ । तिमीलाई चाँडो निको हुने शुभकामना । दृढ रहौ”, युवराजले सामाजिक सञ्जालमा लेख्नुभयो । तमीमले सन् २००७ देखि २०२३ सम्म विभिन्न ढाँचामा तीन सय ९१ खेलमा बङ्गलादेशको प्रतिनिधित्व गर्नुभएको थियो र उहाँ एकदिवसीय क्रिकेटमा बङ्गलादेशको कप्तान हुनुहुन्थ्यो । उहाँले १५ हजारभन्दा बढी रन बनाउनुभएको छ र तीनै अन्तर्राष्ट्रिय ढाँचामा शतक बनाउने एक मात्र बङ्गलादेशी हुनुहुन्छ । रासस/एएफपी