राममणि दाहाल
हेटौँडा, चैत ६ गते । विकासको नयाँ नयाँ प्रयोगका क्रममा हेटौँडा उपमहानगर महिलामैत्री सहरको रुपमा विकास गरिने भएको छ । संघीय सहरी विकास मन्त्रालयसँगको समन्वयमा दुई वर्षअघिबाट नेपालका विभिन्न नगरपालिकालाई महिलामैत्री वहरको रुपमा विकास गर्न काम भईरहेकोमा उक्त योजनामाल हेटौँडा पनि समाबेस गरी अध्ययन सुरु गरिएको हो ।
पहिलो चरणमा देशका पाँच वटा नगरहरुलाई महिलामैत्री बनाउने गरी कार्यक्रम सञ्चालन भईरहेकोमा पछिल्लो पटक हेटौँडा र धनगढीलाई पनि उक्त कार्यक्रममा समावेश गरिएको युएनओपिएस परियोजनाले जनाएको छ । कार्यक्रम कार्यान्वयनको क्रममा हेटौँडा उपमहानरमा परियोजनाका कार्यक्रम व्यवस्थापन विज्ञ चुडामणि जोशी र परियोजनाका सहयोजनाकार वर्षा श्रेष्ठको टोलीले महिलामैत्री पूर्वाधार निर्माण गर्न सम्भावित स्थलहरुको अवलोकन अध्ययन थालेको छ ।
हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा, महिलामैत्री शहरका सम्पर्क व्यक्ति इन्जिनियर विनित ओझासहितको परियोजनाको टोलीले हेटौँडा ८ नगर विकासमा रहेको खुला क्षेत्र, हेटौँडा–१० स्थित राप्ती तट क्षेत्र र हेटौँडा–११ राप्ति पार्क निर्माण स्थलकोे अध्ययन अवलोकन गर्नुभएको छ ।
परियोजना अन्तर्गत पहिलो चरणमा खुला सार्वजनिक क्षेत्रको पहिचान, प्राथमिकीकरण, वडहरुको रेखाङ्कनको काम गर्ने छ । परियोजनाका विज्ञ जोशीका अनुसार बिराटनगर, चन्द्रागिरि, सुनवल, चल्मिचौहा, तानसेन र तिलोतमा नगरपालिकामा महिला मैत्री शहर निर्माणको काम भईरहेको छ ।
हेटौँडा र धनगढीमा चार वर्ष चल्ने यो परियोजनाका लागि युरोपियन युनियन र फिनल्याण्ड सरकारको सहयोग रहने छ । परियोजना अनुसार सार्वजनिक स्थलमा महिला र शारिरीक अशक्त भएकाहरुको सहज पहुँचको अवधारणालाई अघि सार्ने बताइएको छ । परियोजना कार्यान्वयनका लागि एक पालिकामा करिब साढे पाँच करोड रुपियाँ आउने जनाइएको छ ।
नगर प्रमुख लामाले युरोपका विभिन्न मुलुकको अध्ययन अवलोकन भ्रमणको समयमा महिला मैत्री सहर निर्माणका लागि उपमहानगरको तर्फबाट प्रस्ताव गरेसँगै परियोजना हेटौँडा कार्यान्वयनका लागि आएको हो । परियोजना कार्यान्वयनमा आएसँगै महिलाको सशक्तिकरणमा सहयोग पुग्ने नगर प्रमुख लामाले भनाइ छ ।
परियोजनाको टोलीले उपमहानगरपालिकामा कार्यक्रम कार्यान्वयनका बारेमा गरेको छलफल कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, विज्ञ सल्लाहकार कृष्णप्रसाद धिताल, महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, वातावरण महाशाखा प्रमुख सत्यदेवी अधिकारी, इन्जिनियर सुवोध थापा, उद्धव रिमाललगायतका सहभागिता रहेको थियो ।