• २६ फागुन २०८१, सोमबार

वीर अस्पतालमा दुवै सिफ्टमा अपरेसन सेवा सुरु

blog

वीर अस्पताल

काठमाडौँ, फागुन २६ गते । देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेसन सेवा सुरु भएको छ । बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेसन सेवा दुई सिफ्टमा सुरु गरेको हो ।

अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरूमा दुवै सिफ्टमा अपरेसन आरम्भ गरिएको बताउनुभयो ।

यसअघि अस्पतालमा एक सिफ्टमा मात्र अपरेसन सेवा उपलब्ध भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै सङ्घीय अस्पताललाई दुवै सिफ्टमा ओपिडी सेवा आरम्भ गर्न भन्नुभएको थियो ।

सोहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ । वीरले ओपीडी र सार्वजनिक बिदामा सेवा दिँदै आए पनि दुवै सिफ्टमा अपरेसन बल्ल सुरु गरेको हो ।

‘‘अहिले बढी बिरामीको चाप भएका केही सेवा दुवै सिफ्टमा सुरु भएका छन् ।,’’ उहाँले भन्नुभयो, ‘‘विस्तारै बाँकी अरू सेवालाई पनि दुई सिफ्टमा लैजाने योजना छ ।’’  आन्तरिक जनशक्ति र स्रोतबाटै व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको निमित्त निर्देशक गौतमले बताउनुभयो ।  

दुवै सिफ्टमा हुने अपरेसनका कारण यसअघि सेवा पाइरहेका भन्दा धेरै बिरामीले लाभ लिन सक्ने उहाँको भनाइ छ । डा. गौतमले निमित्त निर्देशक भएलगत्तै एक साताभित्र यस्तो सेवा आरम्भ गर्ने घोषणा गर्नुभएको थियो ।