• २६ फागुन २०८१, सोमबार

आगलागी हुँदा लाखौंको क्षति

blog

आगलागीबाट घर जलेर नष्ट ।

विनय कर्ण

कल्याणपुर (सप्तरी), फागुन २६ गते । सप्तरीमा आगलागीको घटना बढेको छ । जिल्लामा दुई दिनमै आगलागीको दुई वटा घटनामा लाखौँको धनमाल जलेर खरानी भएको हो । 

आइतबार राति तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुरामा भएको आगलागीले चार घर जलेर खरानीमा परिणत भएको छ । स्थानीय नयनी यादवको घर नजिकै बालिएको घुरबाट सल्केको आगो फैलिएर नयनीको दुई घरका साथै छिमेकी गोकर्ण मुखिया र लखन मुखियाको घर पनि खरानीमा परिणत भएको हो ।

आगलागीबाट ३३ लाख ७० हजार बराबरको धनमाल, लत्ताकपडा, अन्नपात, सुनचाँदीसहित जलेर खरानी भएको छ भने ६ चौपाया समेत जलेर मरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार आगलागीमा नयनी यादवको टिनको छानो भएको २ घर, लत्ताकपडा, भाडाकुडा, खाद्यान्न र २ वटा बाख्रा र सुनचाँदीका गरगहना गरी ११ लाख ३३ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । 

यस्तै गोकर्ण मुखियाको घरका साथै नगद २ लाख ३५ हजार, सुनचाँदीका गरगहना, लत्ताकपडा, भाडाकुडा र २ वटा बाख्रा जलेर नष्ट भई २० लाख ३५ हजार बराबरको धनमाल जलेर खरानी भएको छ भने लखन मुखियाको घर, लत्ताकपडा, भाडाकुडा, फर्निचर र २ वटा बाख्रा जलेर नष्ट भई २ लाख २ हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

रातको समयका सबै सुतिरहेका बेला अचानक फैलिएको आगोले सानो समयमै ठुलो क्षति पुर्‍याएको वडाध्यक्ष रमेश मुखियाले बताउनुभयो । राति ९ बजेबाट सुरु भएको आगलागीलाई राजविराज नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिकाको वारुणयन्त्रका साथै स्थानियवासी र प्रहरीको सहयोगमा एक घण्टापछि नियन्त्रणमा लिइएको थियो।

यस्तै शनिबार राति सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शत्रुघन मंडलको घरमा आगलागी हुँदा आठ लाख ७८ हजार बराबरको धनमाल जलेर नष्ट हुनुका साथै भैंसी १ थान, पाडी १ थान, बाख्रा ७ थान, खसी २ थान र जस्ताले छाएको फुसको सुत्ने घर र गोठ घर सहित पूर्णरूपमा जलि नष्ट भएको थियो । 

सकरपुरावासी खुला आकाशमुनि बसोवास गर्न बाध्य भएका छन् । आगलागीमा घर सहित अन्नपात, लताकपडा जलेर खरानी भएपछि उनीहरू अहिले खुला आकाशमुनि बस्न बाध्य छन् । तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा लगायत विभिन्न निकायका प्रमुख, प्रतिनिधि पुगेर राहत व्यवस्थापनमा जुटेको छ ।

अग्निपीडित परिवारजनलाई लताकपडा, खाद्यान्न र त्रिपाल लगायतका राहत सामग्री उपलब्ध गराउने काम भइरहेको तिलाठी कोइलाडी गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेश झाले बताउनुभयो । “अग्निपीडितहरूलाई तत्काल च्युरा, मुरही, खानेतेल, त्रिपाल, नुन र कपडा लगायतका दिनुपर्ने राहत सामग्री उपलब्ध गराउने काम भइरहेको छ” अधिकृत झाले भन्नुभयो । 

लापरवाहीका कारण आगलागी हुने गरेको बताउनुहुन्छ तिलाठी कोइलाडी गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेश झा । उहाँले लापरवाही कै कारण बर्सेनि जिल्लामा करोडौंको सम्पति जलेर खरानी बन्दै आए पनि मानिस सचेत हुन नसकेको बताउनुभयो । “अधिकांश आगलागीको कारण कि त घुर कि त सर्ट सर्किट नै हुने गरेको छ” उहाँले भन्नुभयो, “तर अहिलेसम्म मानिस सचेत हुन सकेको छैन ।”

जिल्लाको अधिकांश ग्रामिण भेगमा फुसको घर अहिले पनि रहेको र असावधानी पुर्वक घुर बालेर छोडेने गरेकाले यस्ता घट्नाहरू हुँदै आएको झाको भनाइ छ । फागुन महिनादेखि जेठ महिनासम्म हवाहुरी चल्ने गरेको हँदा प्रत्येक वर्ष सप्तरीमा आगलागीको ठुलठुला घट्नामा करोडौंको क्षति हुँदै आएको कारण बेलाबेलामा सचेतनामूलक कार्यक्रमहरू गरिए पनि पनि स्थानियवासीहरू लापरवाही गर्दै आएको उहाँको भनाइ छ ।