• २६ फागुन २०८१, सोमबार

पाँचथरमा बहिरा सङ्घको जिल्ला समिति गठन

blog

पाँचथरमा गठित बहिरा सङ्घका नव निर्वाचित पदाधिकारी, अतिथि र दोभासेहरू । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, फागुन २६ गते । पाँचथरमा बहिरा सङ्घको जिल्ला समिति गठन भएको छ । सदरमुकाम फिदिममा सोमबार सम्पन्न जिल्ला भेलाले टिकाराम आचार्य अध्यक्ष रहेको ७ सदस्सीय तदर्थ समिति गठन गरेको हो । 

समितिको उपाध्यक्ष मनिषा राई, सचिव ममता आङदेम्बे, सहसचिव दिना राई, कोषाध्यक्ष विशाल तामाङ, सदस्य मनुभक्त राई,अशोक नेम्बाङ चयन हुनुभएको छ ।

सङ्घले ६ महिनाभित्र विधान बनाउनेसहितका काम सकेर जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदमा दर्तासँगै बहिरा महासंघमा आबद्वतापछि जिल्ला अधिवेशन गर्ने कार्यभार तदर्थ समितिलाई दिएको छ ।

यसैबिच महासंघले आयोजना गरेको ४ महिने नेपाली साङ्केतिक भाषाको आधारभूत तालिम सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले तालिमले बहिराहरुमा संचारमा पहुँच पुर्‍ याउन मद्दत पुगेको बताउनुभयो ।

राष्ट्रिय बहिरा महासङ्घ नेपाल प्रदेश कार्य समिति अध्यक्ष सुनिता तिम्सिना तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कौशल बुडाथोकी, गैसस महासङ्घ पाँचथर अध्यक्ष क्षोमाया तामाङ,अपाङ्ग सङ्घ पाँचथरका अध्यक्ष समीक्षा मुखिया, दोभासे द्वय सन्तोषी घिमिरे र लक्ष्मी विक लगायतले मनतव्य व्यक्त राख्नुभएको थियो ।

राष्ट्रिय बहिरा महासङ्घ नेपाल केन्द्रीय समितिको आयोजना, बहिरा सङ्घ कोशी प्रदेश,करुणा फाउन्डेसन नेपाल,राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कोशी प्रदेश समितिको समन्वय र पाँचथरका ७ वटा स्थानिय तहको आर्थिक सहयोगमा सञ्चालित तालिममा १६ जना सहभागी थिए ।  

तालिमको सहजीकरण प्रशिक्षक टीकाराम आचार्यले गर्नुभएको समन्वयकर्ता संस्था करुणा फाउन्डेसनका जिल्ला संयोजक केदार भण्डारीले बताउनुभयो ।