काठमाडौँ, फागुन १५ गते । तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप गल्फको उपाधि नजिक पुग्नुभएको छ ।
पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रतियोगितामा तोरणले लगातार तीन दिन शीर्षस्थान कब्जा गर्नुभयो । तेस्रो दिन बिहीबार दुई अन्डर ७० खेल्नुभएका तोरणको ५४ होलको समाप्तिसँगै कुल १३ अन्डर दुई सय तीन स्कोर छ ।
दोस्रो स्थानमा रहनुभएका निरज तामाङ उक स्ट्रोकले पछि हुनुहुन्छ । बुधबार चार अन्डर ६८ खेल्नुभएका निरजको कुल १२ अन्डर दुई सय १४ स्कोर छ । शुक्रबार हुने अन्तिम १८ होलको प्रतिस्पर्धामा तोरण र निरजको भिडन्त रोचक हुनेछ ।
यसैगरी एमेच्योर गल्फरद्वय राहुल विश्वकर्मा र सदभाव आचार्य दुवै ६ अन्डर दुई सय १० स्कोरसहित संयुक्त तेस्रो स्थानमा हुनुहुन्छ । पाँच अन्डर दुई सय ११ स्कोरकासाथ प्रो जयराम श्रेष्ठ पाँचौँ स्थानमा रहनुभएको छ ।
कुल आठ लाख ८२ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगितामा प्रोतर्फको विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुनेले ७५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । एमेच्योरतर्फको विजेतालाई ट्रफी प्रदान गरिनेछ ।