रमेश विश्वकर्मा
गुल्मी, फागुन १५ गते। जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले सामुदायिक विद्यालयलाई शैक्षिक गुणस्तरमा अब्बल बनाउनुपर्ने बताउनुभएको छ।
गुल्मीको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयको ३९ औं वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले सामुदायिक विद्यालयलाई शैक्षिक गुणस्तरमा अब्बल बनाउन सबैको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको हो।
समन्वय प्रमुख खत्रीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न परिवार, सामाजिक अगुवा, शिक्षक, कर्मचारी र विद्यार्थीको भूमिका महत्त्वपूर्ण पूर्ण रहने बताउनुभयो।
विद्यालयको भौतिक संरचना मात्र नभएर शिक्षाको गुणस्तर वृद्धि गर्न तीनै तहका सरकारले शिक्षा सम्बन्धि विशेष कार्यक्रम ल्याउन जरुरी रहेको भन्दै उहाँले शैक्षिक गुणस्तर सुधार गर्न शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
समय अनुसार सूचना प्रविधिको प्रयोग दिनप्रतिदिन बढ्दै गएको हुँदा विद्यालय र शिक्षकसँगै विद्यार्थीलाई पनि सूचना प्रविधिसँग जोड्न आवश्यक रहेको भन्दै उहाँले प्रविधिमैत्री शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभयो।
विद्यार्थीलाई पढाइमा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउन आवश्यक रहेको बताउनुभयो। विद्यालयको भौतिक संरचना बालमैत्रीसँगै शिक्षण सिकाइ क्रियाकलाप सधै विद्यार्थीमैत्री हुन जरुरी रहेको उहाँको भनाइ छ।
विद्यालयलाई राम्रो बनाउनका लागि पूर्व विद्यार्थीको पनि महत्त्वपूर्ण भूमिका रहने भन्दै समन्वय प्रमुख खत्रीले हरेक विद्यालयले अर्को विद्यालयको सकारात्मक कुराहरूको सिको गर्न जरुरी रहेको बताउनुभयो। हरेक शैक्षिक संस्थाको प्रमुख कर्तव्य असल र राम्रो व्यक्ति निमार्ण गर्नु रहेको भन्दै उहाँले विद्यालयहरूले व्यावसायिक शिक्षालाई विशेष जोड दिनुपर्ने बताउनुभयो।
‘संस्कारसहितको गुणस्तरीय शिक्षा सिद्धबाबाको इच्छा’ भन्ने मुल मन्त्रलाई आत्मसात गरेको यस सिद्धबाबा माध्यमिक विद्यालयको ३९ औँ वार्षिकोत्सवको अवसरमा विद्यालयको मुखपत्र ‘आवाज’ पुस्तकको विमोचन, पुरस्कार वितरण तथा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको हो। कक्षा १ देखि १२ सम्म अध्यापन हुने यस विद्यालयमा कक्षा ९ देखि साधारण र प्राविधिक धारको अध्यापन हुन्छ।
प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ र साधारण धारतर्फ मानविकी, शिक्षा, व्यवस्थापन, कानुन, विज्ञान र होटल म्यानेजमेन्टको समेत पढाइ हुँदै आएको प्रधानाध्यापक डोरविक्रम श्रीसले बताउनुभयो।
विद्यालयले दुई वटा स्कुल बस, आफ्नै चमेनागृह, सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान ल्याबसमेत सञ्चालन गरेको छ। विद्यालयका लागि पर्याप्त जग्गा नहुँदा खरिदका लागि अभियान नै सञ्चालन गरिएको छ।