• १५ फागुन २०८१, बिहिबार

एकीकृत स्वास्थ्य ऐन ल्याउने तयारी गरेका छौँ : स्वास्थ्यमन्त्री

blog

बिहीबार २८ औं स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, फागुन १५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले समग्र स्वास्थ्य क्षेत्रलाई समेटेर एकीकृत स्वास्थ्य ऐन ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।

बिहीबार २८ औं स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य सेवा ऐनको ड्राफ्टको अन्तिम तयारी गरीरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “छुट्टै स्वास्थ्य सेवा ऐन आवश्यक रहेको ठहर गरेर ऐन बनाउन ड्राफ्ट अन्तिम चरणमा पुगेको छ । अब विज्ञसँग सुझाव लिन बाँकी रहेको छ ।”

साथै मन्त्री पौडेलले विकास समिति ऐन, औषधी ऐन लगायतका थुप्रै ऐन बन्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

मन्त्री पौडेलले स्वास्थ्यकर्मीले काम गर्ने वातावरण बनाउने ऐन आवश्यक रहेको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मी, चिकित्सक, नर्सले दबाबमा काम नसक्ने बताउँदै स्वास्थ्य संस्थामा दबाब रहित वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीले दबाबमा काम गर्न सक्दैनन् । उहाँहरूलाई दबाब रहित वातावरण निमार्ण गरेर काम गर्ने अवसर दिनुपर्छ । आवेगमा आएर स्वास्थ्यकर्मीलाई दुःख दिएमा मानसिक रूपमा दबाब सिर्जना भएर प्रभावकारी सेवा दिन नसक्ने समस्या देखिन्छ ।”

दक्ष जनशक्ति किन बाहिर गइरहेका छन् ? भन्ने प्रश्न गर्नुहुँदै मन्त्री पौडेलले चिकित्सकको भविष्य सुनिश्चित गराउनुपर्ने बताउनुभयो । चिकित्सकको सेवासुविधा पनि अरूभन्दा फरक गर्नुका साथै तह र तलब दुवैबाट पहिचान गर्न सकेमा सेवा प्रभावकारी हुने उहाँको ठहर छ । चिनचानको आधारमा काम हुने परिपाटीको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ ।

स्वास्थ्य सेवाका सबै कुरा ऐनले नै तोक्नुपर्ने आवश्यक रहेको मन्त्री पौडेलले जीकिर गर्नुभयो । उहाँका अनुसार नीतिले गर्न मिल्छ गर्नैपर्छ । नीति अनुसार गर्न नमिल्ने काम गर्नु हुँदैन । स्वास्थ्य क्षेत्रमा काम भए पनि प्रभावकारी र व्यवस्थित नभएकाले चुनौती थपिएको उहाँको ठहर छ ।

स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सरकार तीनै तहका स्वास्थ्यकर्मीको मनोबल वृद्धि गर्न लागेको जानकारी दिनुभयो । 

त्यसैगरी, कार्यक्रममा मन्त्रालयका पूर्व सचिव डा.रोशन पोखरेलले स्वास्थ्य सेवा दिने सबै संस्था एकै ठाउँमा ल्याउन सकेमात्र स्वास्थ्य सेवा प्रभावकारी हुने बताउनुभयो । 

उहाँले छुट्टै स्वास्थ्य सेवा ऐन आवश्यक रहेको बताउँदै छिट्टै ओएनएम सर्वे गरेर स्वास्थ्य क्षेत्रको दरबन्दी परिपूर्ती गर्न आवश्यक रहेको बताउनुभयो ।