• १५ फागुन २०८१, बिहिबार

फेवा किनारमा साहित्य महोत्सव सुरु

राजनीतिज्ञलाई कोसेली किताब दिनु : सञ्चारमन्त्री गुरुङ

blog

पोखरामा बिहीबार नेपाल लिटरेचर फेस्टिभल उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिर : फडिन्द्र अधिकारी/गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन १५ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले साहित्य समाज परिवर्तनको सशक्त हतियार भएको धारणा राख्नुभएको छ । पर्यटकीय राजधानी पोखरामा बिहीबार एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभल २०२५ उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

समाज परिवर्तनको माध्यम साहित्यलाई समाजसहित राज्य सञ्चालकले विशेष स्थान दिनुपर्नेमा उहाँको जोड छ । मन्त्री गुरुङले नेता, मन्त्रीहरुलाई उपहार नदिन आग्रह गर्नुभयो । “आफ्नै काम, आफ्नै पार्टीका कार्यक्रम, राज्यको जिम्मवारी पूरा गर्न आउनेलाई मायाको चिनो, कोसेली किन दिनुपर्‍याे ?,” उहाँले भन्नुभयो, “जसरी पनि दिनै छ भन्ने लाग्छ भने किताब दिनुस् ।”

राज्य, जनता र समाज के हुन्, तिनको समृद्धि कसरी गर्ने भन्ने ज्ञान दिने पुस्तक कोसेलीमा प्रयोग गर्नु उचित हुने उहाँको भनाइ छ । पर्यटन राजधानीका सम्भावनालाई यथार्थमा बदल्न धेरै काम गर्न बाँकी रहेको उहाँले औंल्याउनुभयो । 

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले पोखरालाई सबैले पर्यटन राजधानी मानेको भए पनि मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने र त्यसका लागि आफू लाग्ने वाचासमेत गर्नुभयो । उहाँले भन्नुभयो, “पोखरालाई सबैले पर्यटन राजधानी मानेकै छौँ, क्याबिनेटले निर्णय गर्नुपर्छ नि । त्यसका लागि लाग्छु ।” पोखरा प्रकृतिको बरदान भए पनि संरक्षण नगर्दा कुरुप बन्ने हो कि भन्ने चिन्ता उहाले जाहेर गर्नुभयो । 

कार्यक्रममा सञ्चार मन्त्री गुरुङले छ वर्षीय बालिका भूमिलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तकसमेत सार्वजनिक गर्नुभएको छ । 

बुकवर्म फाउन्डेसनको आयोजना गरेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराही घाटमा फागुन १८ सम्म चल्नेछ । बिहीबारै प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले नेपाल, भारत र बेलायतबिचको सम्बन्धका अनेक सेतु रहेको उल्लेख गर्नुभयो । 

उहाँले विश्वयुद्धका विभिषिकाहरु नै साहित्यका असली स्रोत र विषयवस्तु रहेको धारणा समेत राख्नुभयो । लामा इन्दिरा गान्धी ओपेन युनभर्सिटीको उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत हुनुहुन्छ । 

यसपटक फेस्टिभलमा देश, विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति छ । ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम हुँदै छन् ।