गोकर्ण पौडेल
तुलसीपुर, फागुन १५ गते । तुलसीपुर उपमहानगरपालिका–१९ का जानका पौडेलले गोठभरि बाख्रा पाल्नुभएको छ । पोहोरसम्म दुई चार वटा मात्र बाख्रा पाल्ने पौडेलका अहिले १२ वटा खसी, बाख्रा पाल्नुभएको छ ।
पोहोरसम्म उहाँको खेतमा हिउँद याममा तोरी, गहुँ हुन्थ्यो, अहिले बर्सिम घाँस छ । पहिले खेतमा गहुँ, तोरी, मसुरो हुन्थ्यो, अहिले ग्रिन गोल्ड अर्थात् हरियो सुन बर्सिम घाँस देखिन्छ ।
किसान चेतनाथ पौडेलले खेतमा बर्सिम घाँस छरेपछि खसी, बाख्रा पाल्नका लागि सजिलो भएको बताउनुभयो । जानका मात्र होइन, तुलसीपुर १९ हाडिमेका किसान कुमार बस्नेतको खेतमा गहुँभन्दा बढी बर्सिम घाँस नै छ । किसान कुमार बस्नेतले भन्नुभयो, “धान बेच्न बजार जानुपर्छ, तर यो घाँस त खेतमै किन्न आउँदा रहेछन्, बढी भए बेचे पनि भयो, धान गहुँभन्दा बढी पैसा मिल्छ ।”
घोराही उपमहानगरपालिका–६ मा रहेको शिव शक्ति घाँस बिउ उत्पादन सङ्घका सचिव विमल अधिकारीले त्यस क्षेत्रमा एक सय ६० घरले बर्सिम घाँस खेती गरेको बताउनुहुन्छ । अधिकारीले बर्सिम घाँस छर्नका लागि जोत्न पनि नपर्ने र पटक–पटक काट्न मिल्ने भएकाले किसान आकर्षण बढेको बताउनुभयो ।
तुलसीपुर उउपमहानगरपालिका पशु शाखाका प्रमुख डाक्टर मनोज वलीका अनुसार बर्सिम घाँसमा उच्च प्रोटिन पाइने बताउनुहुन्छ । वली भन्नुहुन्छ, “बर्सिम घाँस हिँउद याममा किसानका लागि बरदान नै सावित भएको छ, गाई, भैँसीलाई दूध बढाउन र खसी, कुखुरा, भेडा, सुङ्गुरको मासु बढाउन बर्सिम घाँस निकै फाइदाजनक मानिन्छ ।”
बर्सिम घाँस हरियो मात्र नभई सुकाएर पछिसम्म खुवाउन सकिने डाक्टर मनोज वलीले बताउनुभयो । उहाँले किसानका लागि बर्सिम घाँसको बिउ निःशुल्क रूपमै उपलब्ध गराउने व्यवस्था गरिएको बताउनुभयो । जिल्लामा हिउँदयाममा खेतबारीका अन्नबालीको सट्टा बर्सिम, जै घाँसको खेती गर्न थालेका छन् ।