• १५ फागुन २०८१, बिहिबार

भूकम्पपछिको पुनर्निर्माण : तीन जिल्लामा अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना हुने

blog

गृहमन्त्री रमेश लेखक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशक समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, फागुन १५ गते । पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्याङ्कन र पुनर्निर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशक समितिको बैठकबाट उक्त निर्णय गरिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरुमा भएको क्षतिको आँकलन गर्ने काम द्रुतगतिमा अगाडि बढेको दाबी गर्नुभयो ।

उहाँले डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको डिडिए भइसकेको पुनर्निर्माण अघि बढाउने र हुन बाँकीको डिडिए गर्न जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने बताउनुभयो । सम्पर्क समन्वय कार्यालय यसै महिनाभित्र स्थापना गर्ने पनि उहाँको भनाइ छ ।

‘‘जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरुमा भएको क्षतिको आँकलन गर्ने काम द्रुतगतिमा अगाडि बढेको छ । त्यसपछि हामी पुनर्निर्माण र पुनःस्थापनाको काम अगाडि बढाउँछौँ । यसरी नै डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको पनि जतिको डिडिए भइसकेको छ । गृहमन्त्री लेखकले भन्नुभयो,  ‘‘त्यसको पुनर्निर्माण अगाडि बढ्छ । डिडिए हुन नसकेको पनि डिडिए हुन्छ । यो कामका लागि जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय यो महिनाभित्र नै स्थापना गर्छौं । अब यो पुनर्निर्माण र पुनःस्थापनाको काम द्रुतगतिले अघि बढ्छ ।’’

उहाँले भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापना द्रुतगतिमा अघि बढ्ने बताउनुभयो ।