रमेश विश्वकर्मा
गुल्मी, फागुन १५ गते । गुल्मीका सात पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमध्ये यहाँका सात पालिकाले सार्वजनिक सूचना जारी गरी ४३ औं राष्ट्रिय मगर एकता दिवसको अवसर पारेर आज सार्वजनिक बिदा दिएका हुन् ।
यस जिल्लाको रेसुङ्गा नगपालिका, कालीगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मी दरबार गाउँपालिका र मालिका गाउँपालिकाले राष्ट्रिय मगर दिवसको अवसरमा गाउँपालिका कार्यालय, आफू मातहतका कार्यालयहरु, स्वास्थ्य संस्था, शिक्षण संस्था लगायत सङ्घसंस्थामा बिदा दिएका छन् । राष्ट्रिय मगर दिवसको अवसरमा हुने विभिन्न मेला तथा सांस्कृतिक कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउन जरुरी रहेको बताइएको छ ।
जिल्लाका विभिन्न स्थानमा मगर समुदायले आफ्नो मगर संस्कृति, परम्परा र गरिमा झल्काउने विविध कार्यक्रमहरु गर्ने भएका छन् । तम्घासमा नेपाल मगर महिला सङ्घ र कोब्रा युवा समूहको संयुक्त आयोजनामा मौलिक खानाहरुको साथमा विविध सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ ।