• १५ फागुन २०८१, बिहिबार

केआइआइटीद्वारा नेपाली विद्यार्थीलाई फर्कन पुनः आग्रह, यात्राको सबै खर्च बेहोर्ने

blog

काठमाडौँ, फागुन १५ गते । भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) ले नेपाल फर्किएका नेपाली विद्यार्थीलाई नियमित कक्षामा फर्कन आग्रह गर्दै यात्राको सबै खर्च बेहोर्ने बताएको छ । 

विश्वविद्यालयले अभिभावकहरूलाई एक अनुरोध पत्र लेख्दै नेपालबाट फर्कनका लागि लाग्ने सबै खर्च आफैँले बेहोर्ने उल्लेख गरेको हो । 

विश्वविद्यालयका उपकुलपति सरञ्जित सिंहद्वारा हस्ताक्षरित पत्रमा यही फेब्रुअरी १८ देखि नियमित रूपमा कक्षा सञ्चालन भइसकेको समेत उल्लेख गरिएको छ । 

“विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रम तथा प्रक्रिया पुनः सञ्चालन भइसकेका छन् । विद्यार्थीहरूलाई छिटोभन्दा छिटो कलेज फर्कन अनुरोध गर्दछौँ”, पत्रमा भनिएको छ, “विश्वविद्यालयमा फर्कनका लागि बस, रेल वा हवाई यात्राको सम्पूर्ण खर्च विश्वविद्यालयले बेहोर्ने छ ।” 

विश्वविद्यालयले विद्यार्थी सुरक्षामा पनि प्रतिबद्धता जाएको छ । उसले विद्यार्थीको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै अभिभावकलाई ढुक्क रहन आग्रह गरेको छ । साथै यस अवधिमा छुटेका कक्षा वा प्रयोगशालाहरू विद्यार्थीको शैक्षिक, करियर तथा रोजगारीको अवसरमा असर नपर्ने विश्वास दिलाएको छ । 

साथै विश्वविद्यालयका होस्टल वा स्कुलबाट कुनै किसिमको सहमति वा हस्ताक्षर माग्ने कुनै प्रावधान नरहेको स्पष्ट पार्दै अन्य स्रोतबाट आएको गलत सूचनालाई बेवास्ता गर्नसमेत आग्रह गरिएको छ । 

विश्वविद्यालयमा हाल ६५ भन्दा बढी मुलुकका तीन हजारभन्दा बढी विदेशी विद्यार्थी अध्ययन गरिरहेको बताइएको छ । विश्वविद्यालयसँग सम्बन्धित कुनै जिज्ञासा भए डा. विकास संवत् ९९८७३६६६०७२० वा डा. ममता धिताल ९७८५५०२९३२२० लाई सम्पर्क गर्न सकिने जनाइएको छ । केआइआइटीमा अध्ययनरत एक नेपाली छात्राको मृत्यु र त्यसपछि उत्पन्न तनावको व्यवस्थापनमा नेपाल सरकारले गरेको कूटनीतिक प्रयासपछि कलेजले नेपाली विद्यार्थीलाई फर्कन पटक पटक आह्वान गरिरहेको छ ।