• १५ फागुन २०८१, बिहिबार

९औं थारू साहित्य राष्ट्रिय सम्मेलन हुने

blog

सम्मेलनको तयारीबारे राजापुरका मेयरसँग छलफल गर्दै आयोजक । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन १५ गते । थारू लेखक सङ्घ नेपाल तथा जङ्ग्रार साहित्यिक बखेरीको संयुक्त आयोजनामा बर्दियास्थित राजापुर–२, जोेतपुर गाउँमा शुक्रबारदेखि सुरु हुने ९औं थारू साहित्य राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । 

फागुन १७ गतेसम्म चल्ने सो सम्मेलनमा आठ वटा छलफल सत्र राखिएको तथा उद्घाटन सत्रलाई बोझिलो नबनाउन यसपाली कसैलाई प्रमुख अतिथि नतोकिएको जङ्ग्रार साहित्यिक बखेरी बर्दियाका अध्यक्ष सोम डेमनडौराले बताउनुभयो । उहाँका अनुसार सम्मेलनको प्यानल छलफलमा ‘राजापुर नगरपालिकाको शिक्षा यात्रा’ शीर्षकमा राजापुर नगरपालिकाका मेयर दिपेश थारू राजेश, पूर्व जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह, पूर्व प्रधानाध्यापक किरण आचार्यसँग युवक माविका प्रधानाध्यापक नरेशकुमार थारूले बहस चलाउनु हुनेछ । 

त्यस्तै, पूर्व मन्त्री डा. गोपाल दहित, लुम्बिनी प्रदेश सांसद धर्मबहादुर थारू, पूर्व मेयर दुर्गाबहादुर थारू कबिरसँग अधिवक्ता सन्तराम धारकटुवा थारूले विकास र बाधा शीर्षकमा छलफल गर्नुहुने कार्यक्रम छ । 

यस्तै संस्कृतिकर्मीत्रय एकराज चौधरी, मिनराज चौधरी, भगवती प्रसाद चौधरीसँग रेडियो गुर्वावाकी स्टेसन म्यानेजर पुष्पा चौधरीले बर्किमार (थारू महाभारत) का पात्रबारे सेसन चलाउनु हुनेछ । 

माओवादी सशस्त्रमा द्वन्द्वमा सबैभन्दा बढी बेपत्ता पारिनेमा बर्दियाको थारू समुदाय रहेको छ । सोही प्रसङ्गमा, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको सवाल शीर्षकमा थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, मेयर दिपेश थारू राजेश, तथा द्वन्द्वपीडित समाजका अध्यक्ष भागीराम थारूसँग अध्येता शेखर दहितले बहस कार्यक्रम गर्नुहुनेछ । 

यसैगरी, थारू लोक साहित्यको संरक्षणमा युनिक नेपालको भूमिका शीर्षकमा डा. गोपाल दहित, प्रिमबहादुर थारूसँग डा. कृष्णराज सर्वहारीले बहस गर्नुहुनेछ भने साहित्यका लागि एक कप चिया अभियानबारे सोम डेमनडौरा, मोहन चौधरी, शेखर दहितसँग सानु चौधरीले छलफल गर्नुहुने कार्यक्रम रहेको छ । 

त्यस्तै, ठुम्रार बसघरा बाटचिट शीर्षकमा बुद्धसेन चौधरी, उन्नती चौधरी, शत्रुघन चौधरीसँग बालिका चौधरीले छलफल चलाउने कार्यक्रम तय गरिएको थारु लेखक सङ्घ नेपालका अध्यक्ष डा. कृष्णराज सर्वहारीले बताउनुभयो । उहाँका अनुसार तीन दिनसम्म चल्ने सो सम्मेलनको आकर्षण निर्देशक प्रदीप भट्टराई तथा कलाकार, निर्माता रविन्द्रसिंह बानिया रहनु हुनेछ । उहाँहरूसँग निर्देशक सुरजदेवले सिनेमा के बन्यो, के बनेन शीर्षकमा बहस चलाउनु हुनेछ । बालाबजारमा गजल साँझ पनि आयोजना गरिने बताइएको छ ।