• १५ फागुन २०८१, बिहिबार

गलेश्वरमा रु. ५१ लाख भेटी सङ्कलन

blog

म्याग्दी, फागुन १५  गते ।  जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु .५१ लाखबढी भेटी सङ्कलन भएको छ । 

गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु. ५१ लाख २२ हजार एक सय ५३ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । 

कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले यो वर्ष भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताउनुभयो । उहाँका अनुसार गत आव २०८०र८१ मा रु. ५८ लाख ४० हजार पाँच सय १० भेटी सङ्कलन भएको थियो । यस वर्ष नियमिततर्फ रु. २५ लाख १५ हजार पाँच सय ४७ तथा मेलापर्व र विशेष अवसरमा गरी रु. २६ लाख छ हजार छ सय छ भेटी सङ्कलन भएको रेग्मीले जानकारी दिनुभयो । 

बुधबारको महाशिवरात्रि पर्वमा रु. चार लाख ३३ हजार सात सय ७४, मङ्सिरको बालाचर्तुदशीमा रु. छ लाख ६१ हजार दुई सय ९४ र साउने सोमबारको मेलामा रु. १५ लाख ११ हजार पाँच सय ३८ भेटी सङ्कलन भएको कोषका कोषाध्यक्ष कुमारी पुनले जानकारी दिनुभयो ।  

शिवरात्रि पर्वको भेटी आज बिहान कोषका पदाधीकारी, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा गनेर सार्वजनिक गरिएको हो । अन्य शीर्षकमा रु. २१ लाख ४२ हजार पाँच सय २९ सहित कोषले साउनदेखि हालसम्म रु. ७२ लाख ६४ हजार छ सय ८२ आम्दानी गरेको कोषका कार्यालय सचिव राम बानियाँले बताउनुभयो । 

मन्दिरको आम्दानी कार्यालय, पूजा व्यवस्थापन, मन्दिरका पुुजारी, ज्येष्ठ नागरिकको आश्रमका भान्सेको तलबका साथै संस्कृत विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ । गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रूपमा गणना गरेर सार्वजनिक गर्ने गरिएको सचिव बानियाँले बताउनुभयो ।

नियमित पूजाबाट तथा महायज्ञबाट सङ्कलन भएको भेटी, तीर्थयात्रीद्वारा दिइएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो । 

उहाँका अनुसार धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् । 

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । 

हिन्दुधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने गर्दछ । साथै यहाँ दैनिक नित्य पूजाआजा हुने गर्दछ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुुने धार्मिक विश्वास रहेको छ । रासस