• १५ फागुन २०८१, बिहिबार

विद्यार्थीलाई तरकारी उत्पादन गर्न सिकाइँदै

blog

सिद्धेश्वरी अनाथ जनजाति तथा आवासीय आधारभूत विद्यालय ढप्क बाजुरा । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, फागुन १५ गते । बाजुराका अधिकाशं विद्यालयले पछिल्लो समय विद्यार्थीलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका छन् । विद्यालयमा बालबालिकाहरुलाई खुवाइँदै आएको दिवा खाजा तथा खेलकुद सामग्री खरिद गर्न सहज हुनेगरी पछिल्लो समय विद्यालयले यहाँका अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका हुन् ।

पहिला तरकारी खेती कसरी गर्ने भन्ने विषयमा हामीलाई केही थाहा हुँदैनथ्यो । अहिले विद्यालयमा पढाइसँगै तरकारी खेतीका बारे सिकाउँदै बुढीनन्दा नगरपालिका –९ ढप्कस्थित सिद्धेश्वरी अनाथ जनजातीय तथा आवासीय आधारभूत विद्यालयका कक्षा ५ का छात्रा छाया गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यालय वरिपरि धेरै जमिन छ । दुइ वर्षदेखि हामीले त्यो सबै जमिनमा तरकारी लगाउँदै आएका छौं ।” हामी सबै विद्यालयमा बस्छौं । विद्यालयमै खान सुत्नको राम्रो व्यवस्था छ । त्यसैले दिवा खाजा तथा बिहान बेलुकीको खाना सहज हुने गरी अहिले हामीले विद्यालयमै तरकारी उत्पादन गर्न थालेको छाैं, गुरुङले भन्नुभयो । 

यहाँको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका अधिकांश विद्यालयले बालबालिकाहरुको पढाइसँगै विद्यालयमा तरकारी लगाउन सिकाउँदै आएका छन् ।

बालबालिकालाई सानैदेखि आफैंले केही गर्न र उनीहरुको जीवनमा आइपर्ने हरेक बाधा अड्चनलाई सहजरुपमा पार गर्न सकुन् भन्ने उद्देश्यले पछिल्लो समय पढाइसँगै उनीहरुलाई तरकारी लगाउन तथा अन्य उनीहरूलाई जीवनमा आवश्यक पर्ने विभिन्न सीप सिकाउने गरेको सिद्धेश्वरी अनाथ जनजातीय तथा आवासीय आधारभूत विद्यालयका प्राधानाध्यापक तुलाबहादुर रावतले बताउनुभयो।