गुणबहादुर रोका
सुलीकोट, फागुन १५ गते । गोरखाको हरमटारी खेलकुद मैदानमा जारी गोरखाको सर्वाधिक पुरस्कार राशीको दि अन्नपूर्ण स्कुल नवौं गोर्खाली रनिङ कपको उपाधि आयोजक हरमटारी क्लबले जितेको छ । बिहीबार भएको फाइनल खेलमा चाइनिज धारा फेमली क्लबलाई १–० को गोल अन्तरले हराउँदै हरमटारी क्लब उपाधि विजेता बनेको हो ।
उपाधि विजेता हरमटारी क्लबले चार लाख नगदको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बन्न सफल भएको चाइनिज धारा फेमली क्लबले दुई लाख नगदको साथमा पदक र प्रमाणपत्र प्राप्त गरेको हरमटारी युवा क्लबका महासचिव किरण ढकालले जानकारी दिनुभयो ।
प्रतियोगिता विभिन्न विधाअन्तर्गत लक्ष्मीबजार हाट क्लबलाई अनुशासन टिम भएको भन्दै नगद ३५ हजारको साथमा ट्रफी प्राप्त गर्न सफल भएको छ । त्यस्तै आयोजक हरमटारी क्लबका सन्तबहादुर गुरुङ उत्कृष्ट खेलाडी बन्दै २५ हजार नगद, लक्ष्मीबजार हाट क्लबका रिचार्ज विल्सन सर्वाधिक गोलकर्ता बन्दै १५ हजार नगद प्राप्त गर्न सफल हुनुभएको छ ।
त्यस्तैगरी उदायमान खेलाडी हरमटारी क्लबका प्रसुन तामाङले दश हजार, उत्कृष्ट गोलरक्षक हरमटारी क्लबका अनिश महतोले १५ हजार नगदको साथमा ट्रफी प्राप्त गरेको हरमटारी क्लबका महासचिव ढकालको बताउनुभयो ।
गत फागुन ७ गतेबाट सुरु भएको प्रतियोगितामा १४ वटा टिमले सहभागिता जनाएको थियो । प्रतियोगितामा विजेताहरुलाई एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले पुरस्कार वितरण गर्नुभएको आयोजक हरमटारी क्लबले जनाएको छ ।