राधा लुइँटेल
फिदिम, फागुन १५ गते । पाँचथरको हिलिहाङ गाउँपालिका २ मा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा परेका २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
हिलिहाङ १ मा सञ्चालित माङसेवा बोर्डिङ स्कुलका विद्यार्थी बोक्ने मे १ ज ३०७३ नम्बरको बलेरो सडकदेखि तल खस्दा गम्भीर घाइते भएका हिलिहाङ १ निवासी ३५ वर्षीय हेमराज योगीको निधन भएको हो ।
घटना स्थलबाट गम्भीर अवस्थामा उद्धार गरेर ल्याइएका योगीलाई राती पाँचथर अस्पताल ल्याइ पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा हिलिहाङ १ का २६ वर्षीय विनोद तामाङ,र २० वर्षीय मनिष लिङदेन घाइते भएका हुनुभएको छ ।
उहॉहरु मध्ये तामाङको अवस्था गम्भीर रहेकाले पाँचथर अस्पतालबाट थप उपचारका लागि झापा स्थित वि एण्ड सि अस्पताल लगिएको पनि प्रहरीले जनाएको छ ।
बलेरोका चालक १९ वर्षीय समीर खातीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी)कौशलकुमार बुढाथोकीले बताउनुभयो ।
बलेरो हिलिहाङ १ अमरपुरको माङसेवा बोर्डिङ स्कुलको विद्यार्थीलाई घर पुर्याएर फर्किँदै गर्दा बुधवार साँझ करिब ६ बजे दुर्घटनामा परेको थियो ।
बलेरो आफैँ अनियन्त्रित भएर सडकभन्दा एक सय मिटर तल खसेको पनि प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका योगीको शव पोस्टमार्टम गरी आफन्तलाई बुझाउने प्रक्रिया सुरु गरिएको बताइएको छ ।