गलेश्वर समाचारदाता
गलेश्वर (म्याग्दी), फागुन १५ गते । महाशिवरात्रि पर्वका अवसरमा भगवान् शिवको प्रसादका रूपमा भाङ, धतुरो, गाँजालगायत अन्य नसालु पदार्थ सेवन गर्नु पर्छ भनेर शास्त्रमा कतै उल्लेख नभएकाले विकृतिरहित शिवरात्रि पर्व मनाउनुपर्नेमा म्याग्दीमा बुधबार आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
भगवान् शिव उत्पत्ति भएको रातको नामबाट नामकरण भएको पर्व शिवरात्रि उत्साह र उमङ्गसहित शिवालय मन्दिरमा पुगेर विधिपूर्वक पूजा, आराधना गरी मनाउनुपर्नेमा नयाँ पुस्ताले शिवबुटी भन्दै विभिन्न नसालु पदार्थ सेवन गर्नु शास्त्रसम्मत नभएको सहभागीले बताए ।
शिवरात्रिका अवसरमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बेनी शाखाले आयोजना गरेको ८९ औँ शिवरात्रि महोत्सव एवं शिवध्वजारोहण साथै स्नेह मिलन समारोहमा गण्डकी प्रदेश सभाका सदस्य हरि भण्डारीले आफ्नो मेहनतलाई नै सफलताको कारण मान्नुपर्ने बताउनुभयो । सांसद भण्डारीले समाजमा बढ्दो अपराध न्यूनीकरण गर्न आध्यात्मिक शिक्षालाई झनै फराकिलो बनाउनुपर्ने र शास्त्रको नाम लिएर भइरहेको विकृतिको अन्त्यमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य, प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रमुख सबिन श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबिन श्रेष्ठ, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष सन्दीप खत्रीलगायत विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिले महाशिवरात्रिमा लागुपदार्थजन्य वस्तुको प्रयोगमा रोग लगाउनुपर्ने बताउनुभएको थियो ।
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बेनी शाखाकी प्रमुख रीना दिदीले शिवरात्रिका दिन गाँजा खानु पर्छ भनेर शास्त्रमा कतै उल्लेख नगरिएकाले दुव्र्यसनमा लाग्नेहरूलाई सचेत बनाउन आध्यात्मिक ज्ञान आवश्यक रहेको बताउनुभयो ।