राजु लामिछाने
रुकुमपश्चिम, फागुन १५ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ का तीन बस्ती ठुलीभेरी नदीको कटानका कारण पहिरोको उच्च जोखिममा रहेका छन् भने खेतीयोग्य जमिन बगाएर बगर बनेको छ । वडाका ज्यामिरे, मन्का र दामाचौर बस्ती नदीको कटानले पहिरोको उच्च जोखिममा रहेका हुन् भने नदी छेउका खेतीयोग्य जमिन बगाएको हो ।
बर्साको समयमा आएको पहिरोले ठुलीभेरी थुनिएपछि बस्तीतिर ढल्किएको र नदीले कटान क्षेत्र बढाउँदै लगेपछि थप जोखिम बढ्दै गएको हो । वडा नं. ६ का वडाध्यक्ष धनेश्वर शर्माका अनुसार रुकुमपश्चिम, जाजरकोट र डोल्पाको सीमानजिकैका यी बस्ती नदीको कटान र पहिरोको जोखिममा रहेका छन् । उहाँले जाजरकोटतर्फको फम्दा लेकबाट गत वर्ष आएको पहिरोले नदी थुनिएपछि धार परिवर्तन गरेर बस्तीतर्फ आउँदा गाउँ नै जोखिममा रहेको बताउनुभयो । वडाध्यक्ष शर्माका अनुसार ज्यामिरे गाउँका २० घर पहिरोको उच्च जोखिममा रहेका छन् भने ३१ घर जोखिममा रहेका छन् ।
त्यसै गरी मन्काबगरमा रहेका ५५ घर र दामाचौरका करिब ५० घर पनि पहिरोको जोखिममा छन् । नदीले धार परिवर्तन गर्दा ज्यामिरे गाउँतर्फको करिब छ सय मिटर चौडाइ र १० मिटर लम्बाइ भएको जमिनको भाग बगाएको उहाँले जानकारी दिनुभयो । ठुलो मात्रामा केरा र मकै खेती गरिएको जमिन अहिले बगर बनेको छ । ज्यामिरे गाउँका नन्दबहादुर बोहोराले लगातारको कटानका कारण गाउँ नै पहिरोसँगै नदीमा मिसिने उच्च जोखिम रहेको बताउनुभयो । उहाँका अनुसार २०५७ सालयता हरेक वर्ष पहिरोले केही घर र खेतीयोग्य जमिन बगाउने गरेको छ । गत वर्ष मात्रै कालिका आधारभूत विद्यालयको भवनसहित १३ घर बगाएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार २०७६ सालमा पनि मन्काबगरका १२ घर पहिरोले नदीमा मिसाएको थियो । क्षति भएकामध्ये पाँच वटा घर सरकारले निर्माण गरिदिएको छ भने सात घर अलपत्र छन् ।
दामाचौरका नेत्रबहादुर शाहीले हरेक वर्ष नदीले खेतीयोग्य जमिन बगाउने गरेको बताउनुभयो । सल्लेतरा र त्रिवेणी गाउँका खेतीयोग्य जग्गा बगाउँदा स्थानीयले ठुलो नोक्सानी बेहोर्दै आएका छन् । स्थानीयले बलियो तटबन्धनको माग गर्दै आएको तर सुनुवाइ हुन नसकेको गुनासो गरेका छन् । वडाध्यक्ष शर्माले भेरी कोरिडोरको क्षेत्रमा पर्ने भएकाले त्यहाँ पनि तटबन्धनको माग गरिएको बताउनुभयो । नापजाँचसमेत गरिसकेको हुनाले योजना निर्माण हुने आशा जागेको उहाँको भनाइ छ ।
यसअघि नगरपालिका, जिल्ला प्रशासन, प्रदेश सरकारलगायतका विभिन्न निकायमा जोखिमपूर्ण बस्ती जोगाउन माग गर्दै निवेदन दिएको तर सुनुवाइ नभएको स्थानीयको गुनासो छ । प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले स्थानीयले तटबन्धनको माग गरेको जानकारी दिनुभयो । स्थलगत अध्ययनका क्रममा बस्तीहरू उच्च जोखिममा रहेको र नदी कटानले खेतीयोग्य जमिनसमेत बगाएको पाइएको उहाँले बताउनुभयो । क्षतिको आकलन र स्थानीयको मागका आधारमा सम्बन्धित निकायमा तटबन्धन निर्माणका लागि पहल गरिने उहाँले बताउनुभयो ।