ललित बसेल
सुर्खेत, फागुन १५ गते । करिब एक वर्षअघिसम्म वीरेन्द्रनगर नगरपालिका–११, झुप्रा बस्तीमा दिनहुँ जसो परिवारमा घरझगडा हुने गर्दथ्यो । श्रीमान्श्रीमतीको झगडाले गर्दा साना बालबच्चाको बिजोग हुने गर्दथ्यो । बालुवा छान्ने खोलाको साँध मिचेको भन्दै पनि छिमेकमा विवाद भइरहन्थ्यो । अहिले उक्त बस्तीमा घर तथा छिमेकबिच झगडा हुन छोडेको छ । वातावरण पनि शान्त छ । दुःखको काम भए पनि गरेर शान्तिपूर्वक बसेर एकअर्कालाई सहयोग गरिरहेका छन् ।
दलित अगुवा अभियन्ता धनसरा बादीका अनुसार महिला समूहले बस्तीमा हुने विवाद झैझगडा मिलाउने गरेको छ । विवाद गरेबापत सय रुपियाँ जरिबाना लिने गरिएको छ । दुवै पक्षलाई मिलाउने, गल्ती जसको हो, उसले माफी माग्ने र सय रुपियाँ जरिबाना लिएर आगामी दिनमा झगडा गर्दिनँ भन्ने प्रतिबद्धता गराएपछि बस्तीमा अहिले झैझगडा रोकिएको छ । उहाँले करिब एक वर्षको अवधिमा १० वटा त्यस्ता झगडा र विवाद मिलाउन सफल भएको जानकारी दिनुभयो । बस्तीमा मिल्न नसकेपछि प्रहरीसम्म विवाद पु¥याउने गरिएको छ ।
यस्तै वीरेन्द्रनगर नगरपालिका–१३ का कौशिला विकले आफ्नो गाउँमा हुन लागेको चार वटा बालविवाह रोक्नुभएको छ । उहाँले उमेर नपुग्दै बालविवाह हुन लागेको थाहा पाएपछि रोकेर दुर्घटना हुनबाट जोगाएको बताउनुभयो । उनीहरूले अहिले पुनः पढाइ सुरु गरेका छन् । यसका साथै गाउँमा हुने गरेका साना झैझगडा पनि उहाँ अगाडि सरेर समाधान गर्नुहुन्छ । वीरेन्द्रनगर नगरपालिका–४ की कमला पौडेल गैरेले १० जना पढाइ छाडेका बालबालिकालाई विद्यालयमा भर्ना गर्नुभएको छ । घरमा हिंसाको प्रभावमा परेका बालबालिकाले पढाइ छाडेका कारण उनीहरूको अवस्था बुझेर आर्थिक अवस्था कमजोर भएको पाइएपछि वडा कार्यालयसँग सम्पर्क गरेर विद्यालयमा भर्ना गरिएको उहाँले बताउनुभयो ।