पोखरा समाचारदाता
पोखरा, फागुन ११ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरासँगै गण्डकी प्रदेशका अन्य ठाउँमा पनि पर्यटन विकासका थुप्रै सम्भावना रहेको बताउनुभएको छ । शनिबारदेखि सुरु भएको गण्डकी स्वजागरण अभियानको शुभारम्भ गर्दै उहाँले पोखरा र सिङ्गो गण्डकी प्रदेश पर्यावरणीय हिसाबले प्रशस्त सम्भावना बोकेको ठाउँ भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “यस वर्ष पनि गण्डकी प्रदेश सरकारले आफ्नो नीति कार्यक्रम र बजेटमा स्वास्थ्य जीवनशैली अपनाउन योग तथा ध्यान कार्यक्रम समावेश गरेको छ । घर घरमा स्वजागरण गराउने लक्ष्यसहित स्थानीय तहसँगको सहकार्यमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयमार्फत कार्यक्रम कार्यान्वयनको चरणमा रहेको छ ।” सबैको सहकार्यले स्वजागरण अभियान हरेक नागरिकलाई ऊर्जा जगाउने एउटा माध्यम बन्ने उहाँको भनाइ थियो ।
उहाँले नागरिकको शारीरिक, मानसिक र आत्मिक सन्तुलन कायम राख्न सहयोग गर्नु सरकारको दायित्व हो भन्दै धार्मिक सम्पदा, ऐतिहासिक स्थल, हिमाल, ताल, शाहसिक खेलको ठुलो सम्भावना रहेको गण्डकी प्रदेशलाई योग ध्यानको केन्द्रका रूपमा विकास गर्न स्थानीय, प्रदेश र सङ्घ सरकारबिच सहकार्य गरिने बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले राजनीतिदेखि अन्य हरेक क्षेत्रमा योग र साधनाको उत्तिकै आवश्यकता र महत्त्व रहने भन्दै देशको राजनीतिक परिदृश्यलाई हेर्ने हो भने नागरिकको बढ्दो नकारात्मक धारणालाई चिर्न पनि जीवन विज्ञानको मार्गमा हामीले राजनीतिक साधना गर्नु जरुरी रहेको बताउनुभयो ।
गत वर्ष चैत १६ देखि २३ सम्म भएको लुम्बिनी जागरणका क्रममा मुख्यमन्त्री पाण्डेले यस वर्ष गण्डकी प्रदेशमा गण्डकी स्वजागरण गर्ने घोषणा गर्नुभएको थियो । यस जागरण कार्यक्रममा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ । गण्डकी स्वजागरण अभियानमा आइतबारदेखि एक साता ‘विराट् चक्र विज्ञान’ को अभ्यास बताइएको छ ।