• ११ फागुन २०८१, आइतबार

रैथाने परिकार बनाउने सीप सिक्दै स्थानीय

blog

रैथाने बालीको परिकार बनाउन सिक्दै स्थानीय । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, फागुन १० गते । बेंसीसहर नगरपालिका –९ विम्दाबेंसीकी प्रेमकुमारी गुरुङलाई कोदोको ढिंडो र रोटी मात्र बन्छ भन्ने लागेको थियो । बेंसीसहर–१० का सुजन रिमालले पनि फापरलाई ढिँडो र रोटी बनाएर खानुहुन्थ्यो । जब उहाँहरूले परिकार बनाउने तालिम पाउनुभयो, रैथाने बालीका अन्य धेरै परिकार बनाएर खान सकिनेरैछ र बजार लिन्छ भन्ने थाहा पाउनुभयो । 

रैथाने बालीको धेरै परिकार बनाउन सकिने भए पनि परम्परागत तरिकाले मात्र यसको उपभोग हुँदै आएको छ । रैथाने बालीको परिकार बनाउने तालिमले धेरै परिकारहरू बनाउन सिकाएको बेंसीसहर –३ काउलेपानी होमस्टेका सञ्चालक कुलबहादुर गुरुङले बताउनुभयो ।

“कोदो, मकै, फापर लगायत सँधै खान्थ्यौं”, कुलबहादुरले भन्नुभयो, “यी वस्तुबाट त धेरै परिकार बन्दो रहेछ । हामीले त परिकार बनाएर खान जानेका रहेनछौं । अब धेरै परिकार बनाएर खान्छौं र पाहुनालाई पनि खुवाउँछौं ।”

बेंसीसहर–९ विम्दाबेंसीकी प्रेमकुमारीले फापरको स्वादिलो चाउमिन बनाउन सकिने बताउनुभयो । “रैथाने बाली फपरको चाउमिन बनाउन सकिने रैछ, किन बजारको मैदाको चाउमिन खानुपर्‍याे र !” उहाँले भन्नुभयो, “घरमै फापरको चाउमिन, केक, ढोक्ला, परौठाजस्ता स्वादिला परिकार बनाउन जानेपछि खुसी लाग्यो ।”

वल्र्ड भिजन इन्टरनेसनल नेपाल र ग्रामीण सामुदायिक विाकास केन्द्रको साझेदारीमा बेंसीसहर नगरपालिका, सुन्दरबजार नगरपालिका र दोर्दी गाउँपालिकाका २४ जनालाई रैथाने बालीका परिकार बनाउने तालिम दिइएको थियो । उहाँहरूलाई रैथाने बालीबाट स्वादिला परिकार बनाउन सिकाइएको ग्रामीण सामुदायिक विकास केन्द्रका परियोजना संयोजक हेमराज विमलीले जानकारी दिनुभयो । 

स्थानीयलाई फापरको रोटी, ढोक्ला, परौठा, चाउमिन, कोदोको रोटी, प्यानकेक, मःमः, ढिंडो, मासको बारा, पकौडा, मनसुली चामलको खिर, पुलौ, गोलभेंडाको पिनेको अचार, कालो भट्टको साँधेको अचारजस्ता सामग्री बनाउन सिकाइएको प्रशिक्षक बालेन्द्र चौधरीले बताउनुभयो । 

उहाँको अनुसार मकैको पुवा, कोदोको सुप, गुन्द्रुक आचार, सिस्नोको तरकारी, उसिनेको गहुँ फ्राई, गाँजर तथा फर्सीका हलुवाजस्ता धेरै परिकार बनाउन सकिन्छ । 

स्थानीय रैथाने वस्तुको परिकार स्वादिलो मात्र नभएर धेरै स्वस्थकर पनि हुने भएकाले यसको प्रवर्धन गर्न आवश्यक रहेको ग्रामीण सामुदायिक विकास केन्द्रको कृषि अधिकृत आस्था पण्डितले बताउनुभयो । 

बजारमा उत्पादन भएका पत्रु खानेकुराभन्दा रैथाने खानेकुरालाई नै जोड दिनुपर्छ भनेर समुदायमा एकीकृत पोषण तथा उत्थानशील जिविकोपार्जन कार्यक्रम सञ्चालन गरिएको वल्ड भिजन इन्टरनेसनल नेपालका जिल्ला संयोजक शुक्रराज गुरुङले बताउनुभयो ।