• १० फागुन २०८१, शनिबार

ओझेलमा सोमेश्वर गढी

blog

गैँडाका लागि चितवन प्रख्यात छ । गैँडा, हात्ती र बाघ अवलोकनकै लागि बर्सेनि हजारौँ पर्यटक चिवतन पुग्छन् । तथापि चितवनका ऐतिहासिक गढी किल्लाको संरक्षण र त्यसको पर्यटकीय विकासले चितवन पर्यटनलाई थप समृद्ध बनाउन सक्ने सम्भावना छ ।

तनहुँको सेन राज्यकालीन चितवनमा सोमेश्वर गढी, उपरदाङ गढी, प्याहुली गढी, सिन्चाङ गढी आदि छन् । प्रेमसिंह बस्न्यातको ‘नेपालका गढी किल्ला दर्पण’ (सैनिक इतिहास) पुस्तकका अनुसार हिन्दुस्तान, रामनगर, ठोरी, सोमेश्वर गढी, माडी हुँदै उपरदाङ गढी त्यसपछि कान्द्राङ गढी, गल्छी, नुवाकोट, रसुवा गढी हुँदै केरुङ भोट पुग्ने असली व्यापारिक, धार्मिक र पर्यटकीय बाटो थियो ।  नेपाल सरकारले एक सय पर्यटकीय क्षेत्रमा सोमेश्वर गढीलाई सूचीकृत गरेको थियो । सो क्षेत्रको विकासका लागि गुरुयोजनासमेत बनाइएको थियो । तथापि नेपाल–भारतको सीमा क्षेत्र दसगजामा सोमेश्वर गढी भएकाले त्यसको उचित संरक्षण गर्न नसकिएको माडी नगरपालिकाका प्रमुख ताराकाजी कुमारी महतो बताउनुहुन्छ  ।

प्रमुख महतोका अनुसार सोमेश्वर गढीमा कालिकाको मन्दिरसहित पुरातात्त्विक महìवका वस्तु छन् । यसको संरक्षण गर्न स्थानीय निकायको पहलले मात्रै पुग्दो रहेन छ । यसलाई दुई देशबिचको एकीकृत योजना चाहिने रहेछ । अहिले त्यो योजना अघि नबढ्दा यसको सार्थक संरक्षण हुन सकेको छैन ।

सोमेश्वरको शिर श्रीविन्दुबाट उत्तरी ढलो नेपाल हो, दक्षिणी ढलो भारत । यहाँ ४५ नम्बरको सीमास्तम्भ छ । सोमेश्वरको श्रीविन्दुमा कालिका मन्दिरसँगै शिवलिङ्ग छ । यहाँ हरेक चैतेदसैँमा मेला लाग्छ । अहिले यो क्षेत्रमा नेपालीभन्दा भारतीय भक्तजन बढी आउने गरेका छन् । पानीढलोको आधारमा अहिले भारतको क्षेत्र मानिने तल्लो भागमा भरथरी कुटी पर्छ । जहाँ जीर्ण अवस्थामा सेनकालीन दरबार रहेको छ । ढुङ्गाको डुङ्गा, इनार, कुवा, दरबार र गढीका अन्य मूर्तिको भग्नावशेष सो क्षेत्रमा छ ।

स्थानीय डिआर पोख्रेलका अनुसार सोमेश्वर गढी ऐतिहासिक गढी हो । चितवनमा सोमेश्वर गढी, उपरदाङ गढी, कान्द्राङ गढी र कविलास गढी छन् । सबै गढीको अवस्था जीर्ण र अलपत्र छ ।   उहाँका अनुसार पहिला नेपालको सीमा भरथरी कुटीसम्म थियो । त्यहाँ रहेको सेनकालीन दरबारको भग्नावशेषले पनि त्यही पुष्टि गर्छ । तथापि अहिले पानीढलोको मान्यताले त्यो क्षेत्र छाड्नु पर्दा सोमेश्वर गढी दसगजामा परेको हो ।

पाँच पाण्डव आएर गुप्तवास बसेको गोद्धक सोमेश्वर पहाडकै फेदीमा रहेकाले पनि यसको धार्मिक महìव पनि देखाउँछ । इतिहासकार डा. विष्णुप्रसाद घिमिरेले “लिच्छविकालीन शासकहरू नेपालमा यही बाटो भएर भित्रिएका हुन् भन्ने मान्यता पनि छ । यसलाई राजा अंशु वर्माले व्यापारको मुख्य नाकासमेत बनाएका थिए,” भन्नुभएको छ ।

इतिहासकार प्रेमसिंह बस्न्यातले ‘नेपालका गढी किल्ला दर्पण’ मा सोमेश्वर गढीलाई ‘काठमाडौँबाट ठोरी हुँदै हिन्दुस्तान छिर्ने मुख्य नाका थियो’ भनी उल्लेख गर्नुभएको छ । सो पुस्तकमा भनिएको छ, “यो गढीमा राजा, रानी, प्रधानमन्त्रीलगायत देशका ठुलाबडाको मुकाम हुन्थ्यो, हिन्दुस्तान यात्रामा । यहाँबाट राजधानी तिब्बत र हिन्दुस्तानसँगको व्यापार धर्मकर्ममा हिँड्दा, लडाइँभिडाइ, विद्रोह (अलौ पर्व) आदिमा प्रयोग हुन्थ्यो । यसलाई राज्यले महìवपूर्ण नाकाका रूपमा लिएको थियो ।”

सोमेश्वर गढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर पोख्रेल बजेटको अभावमा सोमेश्वर क्षेत्रको ऐतिहासिक, पुराताìिवक तथा धार्मिक क्षेत्रको संरक्षण अभियान थाल्न नसकिएको बताउनुहुन्छ । नेपाल–भारत सीमा क्षेत्र भएकाले समेत यसको संरक्षणमा बजेट पहलका लागि समस्या रहेको पाखे्रलको धारणा छ । पुरातìव विभागका प्रवक्ता रामबहादुर कुँवर दुई देशको संयुक्त संरक्षण अभियानका लागि पनि पहिला त्यो क्षेत्रको ऐतिहासिक र पुरातात्त्विक महत्त्व अध्ययन हुनुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार सोमेश्वर गढीको पुरातात्त्विक र ऐतिहासिक महत्त्वका बारेमा पुरातìव विभागले अध्ययन गरिरहेको छ । पहिला त यो कुन स्तरको गढी हो भनेर पत्ता लगाउनु प-यो नि ! अनि मात्रै सीमा क्षेत्रमा रहेका गढीको भारत सरकारसँग समन्वय गरेर संरक्षण गर्न सकिन्छ ।

सोमेश्वर गढी संरक्षण र पूर्वाधार विकासमा पहल हुँदै नभएको चाहिँ होइन । माडी नगरपालिकाले ६३ लाख र बागमती प्रदेश सरकारले १० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । गढी क्षेत्रमा मूर्ति कार्यशाला गरी दर्जनौँ मूर्ति बनाइएका छन् । इन्जिनियर विनिय घिमिरेका अनुसार सोमेश्वर क्षेत्रको संरक्षणमा दसगजासँगै चितवन राष्ट्रिय  निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्र पनि बाधक बनेको छ । सरकारी निकायकै अल्झनले ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको सोमेश्वर क्षेत्रको विकासमा समस्या रहेकाले त्यसको समाधानको पहल केन्द्रीय सरकारकै तहबाट खोजिनुपर्ने धारणा इन्जिनियर घिमिरेको छ ।