काठमाडौँ, फागुन ६ गते । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदमा सिफारिस हुनुभएकामा उहाँलाई विशेष सम्मान गरिएको छ ।
करिब एक वर्ष पाँच महिना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका उहाँले समग्र नगरको उन्ननयमा ऐतिहासिक कार्य गर्न सफल हुनुभएको थियो । चन्द्रागिरि नगरपालिकाद्वारा सोमबार आयोजित कार्यक्रममा सहसचिव अर्याललाई नगरप्रमुख घनश्याम गिरीले सम्मान गर्नुभयो ।
सो अवसरमा नगरप्रमुख गिरीले नगर प्रहरी गठन, जिपिएस र डिजिटल प्रणाली कार्यान्वयन, प्रसूति अस्पताल निर्माणजस्ता दूरगामी महत्वका योजना कार्यान्वयमा प्रमुख कार्यकारी अधिकृत अर्यालको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “मैले हालसम्म १० जना प्रमुख कार्यकारी अधिकृतसँग काम गर्ने मौका पाएँ तर राजनीतिक लक्ष्यलाई बुझेर छिटो काम गर्नसक्ने क्षमता प्रमुख कार्यकारी अधिकृत अर्यालसँग मात्र पाएँ । सत्य र तथ्यमा आधारित कार्यसम्पादन गर्ने उहाँको शैली अनुकरणीय छन् ।”
सो अवसरमा सहसचिव अर्यालले राष्ट्रसेवक कर्मचारीका लागि चन्द्रागिरि नगरपालिकामा काम गर्ने वातावरण अब्बल रहेको हुँदा आफ्नो क्षमताले भ्याएसम्म नगरको उन्नयनमा आफूले कार्यसम्पादन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “म खोजेर र रोजेर चन्द्रागिरि नगरपालिकामा आएको होइन, दबाब र प्रभावमा कार्यसम्पादन गर्ने बानी मसँग छैन ।”
फरक प्रसङ्गमा सचिव अर्यालले आफूले किताबी सैद्धान्तिक ज्ञानभन्दा समाज र समुदायलाई सुक्ष्म रूपमा अध्ययन गरेका कारण राजपत्राङ्कित प्रथम श्रेणीमा नाम निकाल्न सफल भएको सुनाउनुभयो । सहसचिव अर्यालले आफूले थालनी गरेका असल अभ्यासलाई आगामी दिनमा अगाडि बढाउन सुझाव दिनुहुँदै ५१ बुँदा संस्थागत ‘सस्थागत स्मरण’ हस्तान्तरणसमेत गर्नुभयो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजनराज खनाल र उपप्रमुख वसन्ती श्रेष्ठ र नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत अर्यालले चन्द्रागिरि नगरपालिकालाई पुर्याउनुभएको योगदानलाई सदैव सम्झने बताउनुभयो । रासस