मनोजरत्न शाही
काठमाडौँ, फागुन ३ गते । नेपालको यु–२० टोली मैत्रीपूर्ण फुटबल खेलमा चीनको युवान प्रान्तको युवा टोलीबिच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
मैत्रीपूर्ण खेलमा नेपाली युवा टोली युवानसँग २–० गोलले पराजित भएको हो । दर्शकको बलियो साथ पाएको यस खेलअघि रङ्गशालामा नेपाल र चीनका कलाकारले विभिन्न सांस्कृतिक प्रस्तुतीसमेत दिएका थिए ।
प्रतिस्पर्धात्मक खेलको रौनकताले पनि दर्शकलाई लोभ्याएको थियो । युवानले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो । युवानको जितमा यु मोङ्घायुईले २१औँ मिनेटमा करिब २० यार्ड लामो प्रहारमा सोझै गोल गर्नुभएको थियो ।
त्यसपछि ७८औँ मिनेटमा वाङ्ग बिनहानले पोस्ट् नजिक पाएको वान भर्सेस वानको प्रहारमा सहज गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । नेपालले पनि पहिलो हाफमा दुई र दोस्रो हाफमा एउटा राम्रो गोलको मौका गुमाएको थियो । नेपालको प्रयासमा युयानका गोलरक्षक बाधक बनेका थिए ।
चिनियाँ नयाँ (सर्प) वर्षको अवसरमा नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल ओभरसिज चीनियाँ सङ्घले संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । दुई देशबिच भाइचारा र फुटबल संस्कृतिको विकास गर्न दोस्रो पटक नेपालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।