फडिन्द्र अधिकारी
लेखनाथ, फागुन २ गते । कास्कीको पोखरा महानगरपालिका वडा नं. २६ को चापाको चौरमा सङ्घ सरकारले प्रादेशिक आयुर्वेद चिकित्सालय बनाउने भएको छ । सुविधासम्पन्न एक सय शय्याको चिकित्सालय निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।
चिकित्सालय निर्माणका लागि अब टेन्डर आह्वान गर्न प्रक्रिया सुरु भएको छ । यसका लागि चालु आर्थिक वर्षमा दश करोड रुपैयाँ विनियोजन भएको छ । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बिहीबार प्रादेशिक आयुर्वेद चिकित्सालय निर्माण स्थल निरीक्षण गर्नुभएको छ ।
जग्गाको निरीक्षणपछि मन्त्री पौडेलले राष्ट्रिय योजना आयोगमा योजनाका लागि पठाउँदा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन छुट भएको देखिएपछि यथाशीघ्र सो प्रतिवेदन पनि तयार गरिएको बताउनुभयो । सय शय्याको चिकित्सालय निर्माणका लागि स्थानीय समुदायसँग सहकार्य गरी २५ रोपनी जग्गा उपलब्ध भइसकेको छ । थप दश रोपनी जग्गाका लागि सुनिश्चित गरिएको पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले बताउनुभयो ।
यसअघि २५ शय्याको चिकित्सालय निर्माण गर्ने तयारी भएकोमा प्रदेश सरकारले नै सङ्घीय सरकारलाई सय शय्याको चिकित्सालय निर्माणका अनुरोध गर्दै उक्त जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । चिकित्सालय निर्माणका लागि ६० करोड लाग्ने अनुमान छ । शिक्षा सेवी रविप्रसाद बरालले तीन दशकअघि अतिक्रमण हुन लागेको जग्गा स्थानीयले जोगाएर राखेको उल्लेख गर्दै चिकित्सालय निर्माण गरी यसको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
चिकित्सालयमा शिरोधारा, साउना बाथ, स्टिम बाथ, ज्याकुजी, अकुपंचर, नेचुरोप्याथिक, योगलगायतका सेवा उपलब्ध हुने गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डा. शङ्कर गौतमले बताउनुभयो । पञ्चकर्म सेवाका लागि भिआइपी डिलक्स, र डिलक्स गरी पाँच वटा भिल्ला तयार गरिने उहाँले उल्लेख गर्नुभयो ।