रमेश विश्वकर्मा
गुल्मी, माघ २७ गते । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले भाषणले देश नबन्ने बताउनुभएको छ । तम्घासमा नेपाली कांग्रेस रेसुङ्गा नगर कार्यसमितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले सो कुरा बताउनुभएको हो ।
नेताहरुका भाषणले नागरिकले धेरै दुःख पाएको भन्दै भाषणबाट मात्र नागरिकका समस्या समाधान नहुने उहाँको भनाइ छ । बितेका ३४ वर्ष जनताको कुरा संसदमा नउठेको भन्दै अहिले जनताका कुरा आफुले संसदमा उठाउँदै आएको उहाँले दाबी गर्नुभयो ।
समयको परिवर्तनसँगै अहिलेको प्रविधिअनुसार राजनीतिक दल र नेताहरु अपडेट हुन जरुरी रहेको भन्दै उहाँले नागरिकका हरेक कुरालाई सम्बोधन गर्ने गरी सबै लाग्नुपर्ने बताउनुभयो । देशको परिवर्तनका लागि प्रविधिलाई विशेष ख्याल गर्नुपर्ने उहाँको भनाइ छ । अहिले देशका युवाहरु विदेश पलायन भइरहेको भन्दै नेता भण्डारीले स्वदेशमा युवालाई रोक्ने कार्यक्रमहरु सरकारले ल्याउन जरुरी रहेको बताउनुभयो ।
गुल्मी निर्वाचन क्षेत्र नम्बर– १ बाट निर्वाचित सङ्घीय सांसद भण्डारीले देशमा खराब काम गर्नेहरु पनि देखिएको हुँदा खराब काम गर्ने कसैलाई पनि छुट नभएको बताउनुभयो । राजनीतिक दलका नेताहरुले जनताको हितमा काम गर्नुपर्ने भन्दै पुराना पुस्ताले बोकेका राम्रा कामको अनुसरण गर्न सबै लाग्नुपर्ने बताउनुभयो । अहिले प्रविधिले एआईसम्म पुर्याउँदा जनताहरु भने औषधि, गतिलो शिक्षा र गरिबीसँग जुध्नुपरेको भन्दै सीमान्तकृत वर्गलाई दुई लाख श्रममा आधारित शेयर दिनुपर्छ भनेर संसदमा आफूले आवाज उठाएको उहाँको भनाइ छ ।