• २१ माघ २०८१, सोमबार

सिमसार क्षेत्र अतिक्रमण

blog

सिमसार क्षेत्रका रूपमा रहेको प्रभास ताल क्षेत्र । तस्बिर : रेखीराम राना

तानसेन समाचारदाता

तानसेन, माघ २१ गते । स्थानीय तहको बेवास्ताले सिमसार क्षेत्रको जग्गा तीव्र अतिक्रमणमा परेको छ । सिमसार क्षेत्रमा बस्ती बस्ने, बस्ती विकासका लागि जग्गा पुर्ने, विकास आयोजना सञ्चालन गर्ने क्रम बढेको छ । स्थानीय तहले सिमसार क्षेत्रको जग्गा संरक्षणमा गम्भीर नहुँदा यस्ता जग्गा अतिक्रमणमा परेका छन् । 

जिल्लाको तानसेन, माथागढी, रामपुर, रिब्दीकोट, रैनादेवी छहरा, तिनाउ, पूर्वखोला तथा रम्भाका विभिन्न क्षेत्रमा सिमसार क्षेत्रका जग्गा छन् । सिमसार अर्थात् भाँसी भएको जग्गामा माटो तथा गेग्य्रानले पुर्ने काम भइरहेको छ । जिल्लाको सिमसार क्षेत्र मानिने प्रभास क्षेत्र पछिल्लो डेढ दशकयता अतिक्रमणमा परेको छ । 

प्रभास, बाँसटारी, कुनसरे, डुबुवा क्षेत्र सिमसार क्षेत्र हुन् तर यी क्षेत्रमा अहिले सबैभन्दा बढी अतिक्रमण भइरहेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताउनुभयो । पानी जम्ने, भाँसी तथा चराचुरुङ्गी वन्यजन्तु खेल्ने स्थानलाई सिमसार क्षेत्र मानिन्छ । त्यस्ता क्षेत्रको संरक्षण गर्ने दायित्व स्थानीय तहको रहेको उहाँले बताउनुभयो ।  

सात वर्षअघि तानसेन नगरपालिकाले प्रभास क्षेत्रको सिमसार जग्गा अतिक्रमणमा परेको भन्दै जग्गा कित्ताकाट गर्न रोक्ने निर्णय गरेको थियो तर उच्च अदालत तुलसीपुरले डेढ वर्षअघि जग्गा कित्ताकाट नरोक्न नगरपालिकालाई आदेश गरेको थियो । उक्त आदेशपछि सिमसार क्षेत्र मानव अतिक्रमणमा पर्ने चिन्ता स्थानीयवासीले गरेका थिए । अहिले पनि सो क्षेत्रको जग्गामा सिमसार क्षेत्र पुरेर भवन तथा सडक निर्माणका काम भइरहेका छन् । 

यस्तै सिमसार क्षेत्रको जग्गामा नाली तथा खोल्सा मिसाउने क्रमले त्यस्ता क्षेत्र पुरिँदै गएको तानसेनका बासिन्दा निर्मल श्रेष्ठले बताउनुभयो । मानव हितका लागि बनाइएका संरचनाले तत्कालका लागि फाइदा पुगे पनि त्यसले दीर्घकालीन समस्या निम्त्याउने भएकाले त्यस्ता क्षेत्रको संरक्षणमा स्थानीय तह सचेत हुनुपर्ने उहाँले बताउनुभयो । मानिसको अधिकार प्रयोग गर्दा जीव तथा वन्यजन्तुको अधिकार र पर्यावरण सन्तुलन बिग्रनबाट रोक्नुपर्ने उहाँको भनाइ छ । 

सरकारले जारी गरेको भूउपयाोग नीति अनुसार स्थानीय तहले जमिनको वर्गीकरण गरेर सिमसार क्षेत्रको जग्गा संरक्षण गर्नुपर्ने दायित्व तोकेको छ तर जिल्लाका अधिकांश पालिकाले जग्गाको पूर्ण रूपमा वर्गीकरण नगर्दा समस्या देखिएको छ । हाल अधिकांश स्थानीय तहले कृषि र गैरकृषि भनेर मात्र जग्गाको वर्गीकरण गरेर कित्ताकाट गरिरहेका मालपोत कार्यालय तानसेनका प्रमुख दुर्गाप्रसाद खनालले बताउनुभयो । 

तानसेन नगरपालिकाले जग्गाको पूर्ण रूपमा वर्गीकरण नगर्दा सिमसार क्षेत्र छुट्याउन समस्या रहेको जनाएको छ । सिमसार क्षेत्रमा निर्माण कार्य नहुने भए पनि जग्गाको वर्गीकरण नहुँदा ठोस निर्णय लिन समस्या भइरहेको नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले बताउनुभयो ।