सुजल श्रेष्ठ
प्युठान, माघ २० गते । जिल्ला प्रहरी कार्यालय प्युठानले ६९ वर्षीय एक व्यक्तिको हत्या गरेको आरोपमा दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । गौमुखी गाउँपालिका वडा ५ खुङ्का ६९ वर्षीय चिन्तामणी उपाध्यायको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरेको हो ।
गौमुखी गाउँपालिका वडा ५ खालका ५१ वर्षीय लोकबहादुर गिरी र गौमुखी गाउँपालिका वडा ५ गोलढुङ्गाका ५० वर्षीया जेदुकुमारी न्यौपानेलाई घटना भएको २४ घण्टाभित्र नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो ।
माघ १८ गते बिहान उपाध्याय मृत अवस्थामा फेला परेपछि अनुसन्धान अघि बढाएको र घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक केसीको भनाइ छ । घटनाबारेमा जानकारी दिन प्रहरीले पत्रकार भेटघाटसहित आरोपितलाई सार्वजनिक गरेको छ ।
पक्राउ परेका दुई जना व्यक्तिको अवैध शारीरिक सम्बन्ध रहेको र उक्त विषय उपाध्यायलाई थाहा भएपछि दुवै जनाले योजनाबद्ध रूपमा उपाध्यायको हत्या गरेको प्रहरीको भनाइ छ । कल डिटेल रिपोर्ट र घटनामा प्रयोग गरिएको भरुवा बन्दुकको बटको आधारमा अनुसन्धान सफल भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।
आरोपित दुवै जनालाई प्रहरीले अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक दिपेश बस्यालसहित प्रहरी निरीक्षक केसीको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको थियो । घटनास्थलबाट प्रहरीले भरुवा बन्दुक, मोवाइल र नगद समेत बरामद गरेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।