सिराज खान
नेपालगन्ज, माघ २० गते । नेपालगन्ज उपमहानगरपालिका –११ स्थित सडकमा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भे १० प ४३४१ नम्बरको मोटरसाइकल र हाल नम्बर नखुलेको मोटरसाइकल नेपालगन्ज ११ ईदगाह रोडमा एक आपसमा ठोक्किएर शनिबार राति भएको दुर्घटनामा परेर भे १० प ४३४१ नम्बरको मोटरसाइकल चालक बर्दिया राजापुर नगरपालिका –१० का २३ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उहाँलाई तत्काल नर्सिङहोम नेपालगन्जमा लगिएको थियो । उपचारको क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर फरार रहेको मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले घटनास्थल पुगेर सो वरिपरिका स्थानीयसँग सोधपुछ गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।