घोराही समाचारदाता
घोराही, माघ १९ गते । थारू इतिहास र संस्कृति बचाउन दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरामा निर्माण गरिएको थारू सांस्कृतिक सङ्ग्रहालय पछिल्लो समय लुम्बिनी प्रदेशको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । प्रथम थारू राजा दङ्गीशरणले शासन गरेको विश्वासका आधारमा एउटा गाउँपालिकाको नाम नै दङ्गीशरण राखिएको छ । राजा दङ्गीशरणको पूर्णकदको प्रतिमा समेत त्यहाँ स्थापना गरिएको छ ।
सङ्ग्रहालयमा थारू जातिको जन्मदेखि मृत्युसम्मका रीतिरिवाजका मूर्ति सजावट गरिएका छन् । चखौरामा स्थापना भएको थारू सांस्कृतिक
सङ्ग्रहालय घुमफिरसँगै अध्ययन तथा अनुसन्धानका लागि आकर्षणको केन्द्रका रूपमा विकास हुँदै गएको छ । थारू समुदायसँग कला, संस्कृति, गरगहना, रीतिरिवाज, परम्परा, वेशभूषासँगै जीवनशैली झल्काउने सामग्री अवलोकनसँगै अध्ययन तथा अध्ययनका लागि दैनिक सयौँको सङ्ख्यामा मानिस पुग्ने गरेका छन् ।
करिब पाँच वर्षअघि स्थापना भएको थारू
सङ्ग्रहालयमा पूर्वको मोरङदेखि पश्चिम कञ्चनपुरसम्म बसोवास गर्ने थारू समुदायको कला, संस्कृति, गरगहना, रीतिरिवाज, परम्परा, वेशभूषासँगै जीवनशैली झल्काउने सामग्री देख्न पाइने बर्दियाबाट थारू सांस्कृतिक सङ्ग्रहालय हेर्न आइपुग्नुभएकी मायादेवी चौधरीले बताउनुभयो ।
आफ्नै थारू समुदायको मौलिक कला, संस्कृति र वेशभूषालगायत पुराना गरहनासँगै थारू समुदायले दैनिक जीवनमा गर्ने कामलाई देखाउने गरी बनाइएको सङ्ग्रहालय राम्रो रहेको उहाँले बताउनुभयो ।
थारू जातिको उद्गम स्थलका रूपमा रहेको दाङलाई थारू जातिको कला, संस्कृति, पहिचानसँगै इतिहास अध्ययन गर्ने केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनुभयो । उहाँका अनुसार सांस्कृतिक
सङ्ग्रहालयमा थारू समुदायले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहना, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने औजारसँगै मूर्ति, चित्रहरू राखिएका छन् । थारू जातिले जन्मदेखि मृत्युसम्मका गतिविधि र परम्परालाई अध्ययन तथा अनुसन्धान गर्न चाहने व्यक्तिका लागि अध्ययनस्थल भएको भन्दै पूर्वमुख्यमन्त्री चौधरीले बताउनुभयो । उहाँका अनुसार चार बिघा बढी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालयमा करिब ९० लाख बढीको सम्पत्ति जोडिएको छ ।
सङ्ग्रहालय स्थापनाका लागि लुम्बिनी प्रदेश सरकारसँगै थारू समुदायको लगानी रहेको छ ।
सङ्ग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटक गरेर दैनिक दुई सयदेखि चार सय मानिस पुग्ने गरेका छन् ।