भैरहवा समाचारदाता
भैरहवा, माघ १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका ९२ प्रतिशतका नागरिकका घरमा खानेपानी पुगेको बताउनुभएको छ ।
उहाँले प्रदेश सरकारको ‘एक घर एक धारा’ को अभियानले खानेपानीमा उपभोक्ताका पहुँच सुनिश्चित गरेको बताउनुभयो । खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा निर्णायक तहमा महिलाको भूमिका विषयक प्रदेशस्तरीय अन्तव्र्रिmया कार्यक्रमको बिहीबार भालुबाङमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अघि बढाएको ‘एक घर एक धारा’ को अभियानले आधारभूत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताउनुभयो ।
लुम्बिनी प्रदेशमा ९२ प्रतिशत जनताको पहुँचमा खानेपानी पुगेको जानकारी दिँदै अब सुरक्षित पानीको पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । ‘प्रदेश सरकार स्थापना नहुँदा खानेपानीको अवस्था कस्तो थियो र अहिले कस्तो छ ? यसमा तुलना गरौँ । जनतामा खानेपानी पु-याउन प्रदेश सरकारले सघन रूपमा योजनालाई अघि बढाएको छ,” उहाँले भन्नुभयो, “आधारभूत पानी मात्रै होइन, स्वच्छ पानी पु-याउने सङ्कल्प सरकारले गरेको छ ।”
सुरक्षित पानीको पहुँचमा नागरिकलाई पु-याउने लक्ष्य सरकारले बनाएको मुख्यमन्त्री आचार्यको भनाइ छ । लुम्बिनी प्रदेशमा साना तथा ठुलो गरेर तीन हजार १७० खानेपानी आयोजना सञ्चालनमा छन् । १५ लाख सात हजार ६६३ जना शुद्ध खानेपानीको पहुँचमा पुगेको प्रदेश सरकारको तथ्याङ्क छ ।
दुई लाख ३७ हजार ३४८ धारा वितरण भएका छन् । चालु आर्थिक वर्ष २०८१–०८२ मा एक हजार ३९० आयोजना छन् । जसमा एक अर्ब ५६ करोड ३३ लाख बजेट रहेको छ । अघिल्ला सरकारको पालामा सुरु भएका तर ८० प्रतिशत काम सम्पन्न भएर पनि पानी वितरण हुन नसकेका १५६ वटा योजना यस वर्ष सम्पन्न भई पानी वितरण गर्ने योजना सरकारले बनाएको छ ।
यी आयोजना सम्पन्न भएको खण्डमा सात लाख सात हजार थप उपभोक्तामा पानी पुग्ने आकलन गरिएको छ । आगामी वर्ष ६० देखि ८० प्रतिशतसम्म काम सम्पन्न भएका योजनामा बजेट थप गरेर सम्पन्न गर्ने गरी योजना बनाइने जानकारी मुख्यमन्त्री आचार्यले दिनुभयो ।
‘जहाँ हात हाल्छौँ, त्यहाँ सफलता प्राप्त हुन जरुरी छ । अधुरा आयोजनालाई पूरा गर्ने गरी सरकारले रणनीति बनाएको छ,” उहाँले भन्नुभयो, “संविधानले प्रदत्त गरेको खानेपानीको अधिकारलाई पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।” साथै मुख्यमन्त्री आचार्यले खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा महिलाको सहभागिता सुनिश्चित भए पनि त्यसलाई अर्थपूर्ण बनाउन भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो ।