• १८ माघ २०८१, शुक्रबार

३० केजीको खुकुरी प्रदर्शनीसहित बिक्रीमा

blog

महोत्सवको स्टलमा राखिएको दाप र खुकुरी । तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), माघ १८ गते । चौँथो रामपुर महोत्सव तथा व्यापार मेलामा स्थानीयदेखि प्रतिष्ठित उद्योगबाट उत्पादन भएका सामग्रीहरु राखिएको छ । तर मेला अवलोकनका लागि पुग्ने दर्शकको ध्यान खुकुरीले तानेको छ ।

३० किलो ग्राम तौल र एक लाख ११ हजार एक सय ११ रुपियाँ मूल्वय तोकिएको खुकुरीले सबैको आकर्षणको केन्द्र बनेको हो । विश्वकर्मा आरन उद्योग वालिङ नगरपालिका-८, स्याङ्जाका सञ्चालक सन्तोष विश्वकर्माले तयार गर्नु भएको खुकुरी स्टलमा प्रदर्शनी संगै विक्रीमा राखिएक‍ो हो । कृषि तथा घरायसी प्रयोजनका लागि आवश्यक फलामका औजार सहित उहाँले दाप सहित पाँच फिट दुई इन्च लामो खुकुरी बिक्रीमा राख्नुभएको छ ।

उहाँको स्टलमा उक्त खुकुरी हेर्न र फोटो खिच्नेको घुइँचो लाग्ने गरेको छ । खुकुरीको बारेमा जानकारी दिँदैमा उहाँलाई फुर्सद छैन । नेपालीको शानको रुपमा रहेको खुकुरीकोबारे जानकारी दिनका लागि ठूलो खुकुरी निर्माण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै तौल भएको ठूलो खुकुरी सजाउनुको विकल्प छैन । खुकुरी नेपालीको शान हो । घरको सजावतका लागि राख्न चाहानेहरुको लागि यो निर्माण गरिएको हो," उहाँले भन्नुभयो । खुकुरीको तौल २५ किलो र दापको तौल पाँच किलो रहेको उहाँले बताउनुभयो ।

आठ फिट लम्बाइको खुकुरी तौल ३० किलो रहेको छ भने १२ किलोको दाप गरेर खुकुरी ४२ किलोको छ । अन्य तीन जनाको सहयोग लिएर २० दिनमा खुकुरी तयार गरेको जानकारी दिनुभयो । 

खुकुरी निर्माणमा ज्याला खर्च बाहेक ३० हजार रुपियाँ खर्च भएको बताउनुभयो । सजावतका लागि आफैले निर्माण गरेको मध्ये यसअघि १३ केजीको ४५ हजार र २० केजीको ५५ हजारमा खुकुरी बिक्री गरेको अनुभव सुनाउँदै अहिलेको खुकुरी बिक्री भएमा बेच्ने र नभएमा विभिन्न स्थानको मेलाको प्रदर्शनीमा राखिने जानकारी दिनुभयो ।

३६३ नम्बरमा रहेको उहाँको स्टलमा खुकुरीले दर्शकको ध्यान मात्र नभै अन्य सामग्री विक्रीमा पनि सहयोग गरेको बताउनुभयो । गत माघ १५ देखि सुरु भएको मेलामा व्यापार निरन्तर बढ्दै गएको बताउनुभयो । 

पुर्खाले गर्दै आएको आरन व्यवसायलाई निरन्तरता दिँदै आउनुभएका विश्वकर्माले विभिन्न स्थानमा लाग्ने मेला महोत्सवले तयार भएका औजारको बजारिकरणमा सहयोग महत्वपूर्ण टेवा दिईरहेको बताउनुभय‍ो ।