• १७ माघ २०८१, बिहिबार

सत्कर्म मार्ग परिश्रम

blog

यस संसारमा यस्तो कुनै वस्तु छैन जसलाई परिश्रमले प्राप्त गर्न नसकियोस् । कडा परिश्रमले मानिसको जीवन सरल र सुविधाजनक बनाउँछ । हाम्रो जीवनमा परिश्रमको महत्व उति नै हुन्छ जति खानाको हुन्छ । खानाले भोक मेटाइ तागत दिन्छ भने परिश्रमले त्यो तागतको सही प्रयोग गर्छ । 

परिश्रम सत्कर्मको एउटा बाटो हो, जसमा मानिस निरन्तर हिँडेर आफ्नो लक्ष्यमा पुग्छ । परिश्रमले मानिसको जीवनको अन्धकार हटाई जीवनमा उज्यालो ल्याइदिन्छ । परिश्रम गर्ने मानिस विश्वमै सफल भएका छन् र हुन्छन् । परिश्रमले हामीमा लुकेको आन्तरिक शक्तिलाई जागृत गराई सुमार्गमा हिँड्न प्रेरित गर्छ । त्यसले हामीभित्रको डरलाई परिश्रमले अन्त्य गर्दछ । यसले हामीलाई हिम्मतिलो बनाई अघि बढिरहन मद्दत गर्छ । परिश्रमले समाजमा आफ्नो लागि आवाज उठाउन सहयोग गर्छ । 

जन्मिँदै मानिसले सबै कुरा सिकेर आएको हुँदैन । ठुलो हुँदै जाँदा परिश्रम गर्ने बानीको विकास हुँदै जान्छ । परिश्रमको स्रोत मानिसको दृढ इच्छाशक्ति हो । म सक्छु, म गर्छु भनेर लाग्नेहरूले नै परिश्रम गर्न सक्छन् । वास्तवमा जीवन भनेकै परिश्रमको अर्को नाम हो । परिश्रमी मानिसले मात्रै समाज नाम, दाम र इज्जत कमाएका छन् । अल्छीको बदनामी भएको छ । धनीले भन्दा गरिबले बढी परिश्रम गर्छन् । परिश्रम गर्दा उनीहरूलाई आनन्द आउँछ । परिश्रमले कमजोर मानिसलाई पनि बलियो बनाउँछ । उसलाई कसैले कमजोर भनेर हेप्नै सक्दैन । परिश्रमी मानिस अरूभन्दा ज्ञानी र बुद्धिमानी हुन्छ । उसले अरूको पिरमर्का बुझ्छ । 

परिश्रम मानिसलाई सही गन्तव्य पुर्‍याउने प्रमुख आधार हो । अल्छी मानिस कुहिरोको काग भएर हराउँछन् भने जाँगरिला जस्तोसुकै प्रतिकूलतालाई जितेर लक्ष्यमा पुग्छन् । उनीहरूको सामाजिक प्रतिष्ठा बढ्छ । आत्मसन्तुष्टि मिल्छ । परिश्रमी खुसीमा रमाउँछन् । अल्छी दुःखमा हराउँछन् ।  

   मुना