• १ चैत २०८१, शुक्रबार

कर्मको फल (कथा)

blog

कुनै गाउँमा असाध्यै मिल्ने दुई जना साथी थिए । तिनीहरूको नाम श्याम र गोपाल थियो । श्याम मेहनती, जाँगरिलो, ज्ञानी र बुद्धिमान थियो भने गोपाल अल्छी र बदमास थियो । उनीहरू छिमेकी भएकाले सँगैसँगै स्कुल जान्थे । स्वभाव नमिले पनि उनीहरू मिल्ने साथी थिए । गोपाल कहिल्यै राम्रो काम गर्दैनथ्यो । सधैँ उटपट्याङ र फट्याइँ काम मात्र गरिरहन्थ्यो । गोपालको बदमासी दिन प्रतिदिन बढ्दै गयो । उ गुरु र गुरुआमाले भनेको पनि मान्दैनथ्यो । उसका खराब बानीका कारण उसका साथीहरू उसँग सङ्गत गर्दैनथे । गोपाल अनेक उपद्रो गरेर छिमेकीलाई समेत सताउँथ्यो । उसको खराब कामले छिमेकी पनि दिक्क भएका थिए ।

सहयोगी र भद्र स्वभाव भएको हुनाले श्यामलाई सबैले मन पराउँथे । घरमा मिठोचोखो पाक्दा बोलाएर खान दिन्थे । एक दिन श्यामले भन्यो, “हेर साथी, तिमी यस्तो खराब काम नगर । तिमीलाई सबैले मन पराउन छाडे ।” श्यामको कुरा सुनेर गोपाल रिसायो । उसले भन्यो, “तिमी असल भए भइहाल्यो नि ! मेरो लागि म असल छु । तिमीलाई केको खसखस ?”

आफ्नो साथी बिग्रिएको कुराले श्यामलाई सधैँ चिन्ता लागिरहन्थ्यो । गोपाल बदमास साथीको मात्र सङ्गत गथ्र्यो । खराब सङ्गतले गर्दा उ चुरोट र जाँडरक्सी पनि सेवन गर्न थाल्यो । छोराको बानीबेहोराले आमाबा पनि वाक्कदिक्क भएका थिए । श्याम भने पढाइलाई अझ राम्रो बनाउँदै प्रगतिपथमा लम्किरहेको थियो । श्यामले एसइई राम्रो ग्रेड ल्याएर पूरा गर्‍यो तर गोपालले एसइई पूरा गर्न सकेन । एसइईमा सफल नहुँदा पनि उसलाई चिन्ता लागेन ।

श्याम कलेज भर्ना भयो । गोपाल मादक पदार्थ खाँदै लखरलखर डुल्न थाल्यो । गाउँमा ऊ आबारा र गुन्डा भएर हिँड्न थाल्यो । उसलाई कति मानिसले कुटे पनि तर उसले चेत्दै चेतेन । श्याम राम्ररी पढेर डाक्टर भयो । 

अम्मल खाने पैसा नभएर एक दिन गोपालले गाउँकै मानिसको पसल फोर्‍यो । गाउँलेले उजुर गरेपछि पुलिसले गोपाललाई पक्रेर लग्यो । श्याम जेल पर्‍यो । आफ्नो साथी जेल परेको थाहा पाउँदा श्यामको मन कटक्क काटियो । श्यामलाई साथीको माया लागेर आयो । ऊ एक दिन साथी भेट्न भनेर जेलमा गयो । गोपाल जेलको चिसो र फोहोर कोठामा अँध्यारो मुख लगाएर बसेको थियो । 

श्यामलाई देखेपछि गोपाल कालोनिलो भयो तर आफ्नो साथी देख्दा उसलाई खुसी पनि लाग्यो । गोपालले खुसीका आँसु झार्‍यो । गोपालले पहिलेका कुरा कोट्याउँदै भन्यो, “साथी, तिमीले भनेको नमान्दा म अहिले यस्तो अवस्थामा छु । तिमीले यति ठुलो प्रगति गरेछौ । तिमीलाई बधाई छ ।” यति भनेर गोपाल डाँकै छाडेर रुन थाल्यो । श्यामले भन्यो, “के गर्नु साथी ! उबेला कति भन्दा पनि तिमीले टेरेनौ । आखिर आपूmले गरेको कर्मको फल भोग्नै पर्छ । बानीबेहोरा सुधार्‍यौ भने तिमी एक दिन जेलबाट छुट्ने छौ ।”

गोपाललाई खाजा खर्च भनेर केही रकम दिई श्याम हिँड्यो । आफ्नो साथी श्यामलाई हेरेर गोपाल रुँदै जेलको कोठाभित्र पस्यो ।    

मुना