जाडो सकिएर गर्मी सुरु हुँदै थियो । एक दिन ऐँसेलु झाडीमा आगो लाग्यो । ऐँसेलु झाडीनजिकै एउटा सानो नदी थियो र त्यसको पारिपट्टि ठुलो जङ्गल थियो । जङ्गलमा बाघ, भालु, हात्ती, चितुवा जस्ता जनावर थिए । चराचुरुङ्गी पनि प्रशस्तै थिए । तिनले टाढैबाट आगो लागेको देखे ।
आगो लागेको देखेर भालु मरी मरी हाँस्न थाल्यो । उसले हात्तीसँग भन्यो, “अब त्यस झाडीमा मालिङ्गाका टुसा पलाउँछन् । खुब खान पाइने भो ।” हात्तीले पनि खुसी हुँदै कुरा थप्यो, “अब घाँस पनि प्रशस्त पलाउँछ । वर्षामा टन्न खान पाइने भो । फाइदै फाइदा ।” यो कुरा सुनेर सानो फिस्टाले आत्तिँदै भन्यो, “तपाईंहरू त ठुला हुनुहुन्छ । भाग्न सक्नुहोला । म त सानो छु । यस जङ्गलमा आगो लाग्यो भने के होला ?” फिस्टो खुर्र उडेर नदी छेउको ऐँसेलुको झ्याङको आफ्नो गुँडमा पुग्यो । दुई/तीन चोटि आफ्नो गुँड वरिपरि उड्यो र फेरि आयो ।
“नडरा फिस्टा ! केही हुँदैन । यस जङ्गलमा आगो लाग्यो भने म त्यो खोलाको सबै पानी ल्याएर खन्याइदिन्छु । मेरो सुँड देखिनस्” हात्तीले सुँड उचाल्दै भन्यो । “आगो लागोस् मात्र न, म कुदेर सबै आगो निभाइदिन्छु । हामीलाई के को डर । तँ जस्तो लुखुरे हो र हामी !” चितुवाले पुच्छर हल्लाउँदै भन्यो । फिस्टाका कुरामा कसैले विश्वास नै गरेनन् । हाँसेर उडाइदिए ।
उनीहरू रमाइरहेकै थिए, एउटा काग वेग हानेर आयो । उसले काग ! काग !! भन्दै सूचना दियो, “यस जङ्गलको चारैतिरबाट आगो लागेको छ । सक्छौ भने ज्यान जोगाऔ है । बाँच्न सक्ने अवस्था छैन ।” यो सुन्नासाथ हात्ती, भालु र चितुवा जङ्गलको कुनातिर लागे । फिस्टो भने अलमलमा पर्यो । उसको गुँडमा बच्चा पनि थिए । के गर्ने भन्नेबारेमा उसले तुरुन्त विचार गर्न सकेन तर एकैछिनमा उसले एउटा जुक्ति निकाल्यो ।
उ उडेर नदीमा गयो र चुच्चामा पानी ल्याउँदै आफ्नो गुँड भएको झाडीमा खसाल्न थाल्यो । उसले जति सक्दो चाँडो पानी ल्याउँदै खन्याउँदै गर्न थाल्यो । उसले आफ्नो गुँड भएको झाङ वरिपरि सबै भिजायो । भोलिपल्ट त्यही काग फेरि जङ्गल हेर्न आयो । हात्ती, भालु र चितुवा जङ्गलमा जलेका थिए । फिस्टो चाहिँ आफ्नो गुँडमा बसेर बच्चालाई घाम तपाउँदै थियो । यो देखेर कागले सोध्यो, “जङ्गलका सबै मरे, तिमी चाहिँ कसरी बाँच्यौ हँ ?”
फिस्टाले फुर्तीसाथ भन्यो, “मैले त नदीको पानी ल्याएर ऐँसेलुको झाङमा खन्याएर गुँड बचाएँ नि ! ठुला जनावरले मेरो कुरै सुनेनन् । म त सानै परेँ । आफूलाई त ठुला कुरा र काम गर्न आउँदैन । उनीहरूले पनि मेरो जस्तै काम गरेको भए त...!” यसपछि फिस्टाले के ही भनेन ।