• १७ माघ २०८१, बिहिबार

विदेश पठाइदिने भन्दै ठगी

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, माघ १७ गते । विदेश पठाउने नाममा सर्वसाधारणसँग रकम लिएर फरार हुने क्रम अझै पनि रोकिएको छैन । पछिल्लो पटक नेपालगन्जका १० युवालाई विदेश पठाउने भनी ठुलो रकम लिएर एक जना फरार भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२३ का १० युवाले डुडुवा गाउँपालिका–६, सिख्खनपुरुवाका हरपालसिंह सिखलाई विदेश जानका लागि तीन/तीन लाख रुपियाँ बुझाएको तर सिख रकम लिएर फरार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

सिखले विदेश पठाइदिन्छु भन्दै आफूहरूलाई ठगेको उनीहरूले जनाएका छन् । सिखबाट ठगिएको जनाउँदै नेपालगन्ज–२३ का मोनु खाँ, आरिफ खाँ, मो. हनिफ खाँ, साकिर अलि बेहना, अस्लम शेष, सउवाल अहमद शेष, रजाक शेष, मनोजकुमार कोरी, सम्सुल शेष र फिरोज शेषले प्रहरीमा उजुरी दिनुभएको हो । 

पीडित मनोजकुमार कोरीका अनुसार कुवेत पठाउन भन्दै सिखले दसै जना युवालाई उडान पक्का भइसकेको जनाई काठमाडौँसमेत लगेका थिए । पाँच दिन काठमाडौँमा बसाएर घर फिर्ता पठाइएको थियो । कुवेत जानका लागि घरबाट टीकाटालो गरेर निस्किएका युवा पाँच दिन काठमाडौँ बसेर नेपालगन्ज फिर्ता आएका थिए । कोरीले दुई लाख ६५ हजार रुपियाँ सिखलाई बुझाएको बताउनुभयो । ३५ हजार रुपियाँ उड्नेबित्तिकै घरपरिवारले दिने भनिएको थियो । दुई लाख रुपियाँ ब्याजमा लिएर सिंहलाई बुझाएको कोरीले बताउनुभयो । उहाँले एक लाखको डेढ लाख दिने गरी छ महिनाको भाका राखेर ब्याजमा दुई लाख रुपियाँ लिएको बताउनुभयो । 

यस्तै अर्का पीडित आरिफ खाँले किचन हेल्फर कोटामा कुवेत जाने भनेर तीन लाख रुपियाँ बुझाउनुभएको थियो । उहाँले दुई लाख ५० हजार ब्याजमा र ५० हजार रुपियाँ भिनाजुसँग मागेर सिंहलाई बुझाउनुभएको थियो । यसै गरी सबैले तीन/तीन लाख रुपियाँ सिंहलाई बुझाएको उहाँहरूले बताउनुभयो । पीडितका अनुसार १० जनामध्ये दुई जनालाई ‘लाइट ड्राइभर’ र आठ जनालाई किचन हेल्फरमा काम लगाइदिने प्रलोभन देखाइएको थियो । सिंहले सिख्खनपुरुवा र मसाहका तीन/तीन जनालाई पनि विदेश पठाइदिन्छु भन्दै ठगेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी आयुष जोशीले विदेश पठाउने नाममा १० युवा ठगिएको भनी ठाडो निवेदन आएको र यस विषयमा छानबिन प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।