विनोदले सवितासँग, “जाडो महिना त नआए पनि हुन्थ्यो है दिदी ?” भने । सविताले जाडो महिना नआओस् भनेर घामसँग अनुरोध गर्न भनिन् । विनोदलाई दिदीको कुराको विश्वास लाग्यो ।
भोलिपल्टदेखि विनोदले हरेक बिहान मुख र हातखुट्टा धोएर ‘जाडो महिना नआओस् भगवान्’ भनेर सूर्यको प्रार्थना गर्न थाले । विनोदले केही दिनदेखि गर्दै आएको प्रार्थनाबाट प्रसन्न भएर घामले “के वरदान माग्छौ बालक ?” भनेर आकाशबाटै सोधे ।
घामको आवाज सुनेपछि विनोद अचम्मित र खुसी भए । उनले भने, “हो घाम, यो जाडो महिना आउँदै नआओस् । गर्मी र ठिक्कको मौसम मात्र होस् । यही वर माग्दछु ।” विनोदको अनौठो वरदान सुनेर घाम छक्क परे । घामले आफ्नो बाध्यता सुनाउँदै भने, “बाबु विनोद, मैले गर्दा जाडो वा गर्मी महिना हुने होइन । म त एकै स्थानमा अचल भएर रहेको छु । जाडो महिना आउनुमा पृथ्वीको घुमाइको सबैभन्दा धेरै भूमिका रहेको छ । त्यसैले २४ सै घण्टा घुम्दै गरेको पृथ्वीलाई नघुम्नका लागि अनुरोध गर । पृथ्वीले तिम्रो अनुरोध मानेर घुमिनन् भने जाडो महिना आउँदैन ।”
घामको कुरा सुनेपछि विनोदले हरेक बिहान पृथ्वीको आराधना गर्न थाले । उनको आराधनाले पृथ्वी खुसी भइन् र वर माग्न भनिन् । विनोद धेरै खुसी भए । उनले पृथ्वीलाई अबदेखि नघुमेर सूर्य जस्तै एकै स्थानमा अडिरहन अनुरोध गर्दै भने, “त्यसो गरेमा जाडो महिना आउँदैन । मलाई पनि चिसोले सताउँदैन ।”
सबै कुरा सुनेर पृथ्वीले विनोदलाई सम्झाउँदै भनिन्, “हेर बाबु विनोद, म पनि सूर्य जस्तै एकै स्थानमा अचल भएर बसिरहेँ भने पृथ्वीमा कुनै प्राणी पनि जीवित हुँदैन । एकै ठाउँमा रहँदा सूर्य भएतिरका प्राणी अत्यधिक गर्मीले मर्ने छन् भने सूर्य नभएतिरका प्राणी चिसोले मर्ने छन् । मैले अर्बौं प्राणीलाई शरीरमा बोकेर घुमाइरहेकी छु । मलाई घुम्नलाई कुनै समस्या हुँदैन । म घुम्ने भएकै कारण महिना र ऋतु पनि परिवर्तन भएका हुन् । होइन, तिमीले नघुम्नु भन्छौ भने घुम्दिन तर तिमी पनि बाँच्न सक्दैनौँ ।”
पृथ्वीले आफू घुम्ने बाटोलाई कक्ष भनिन्छ भनिन् । आफूले हरेक दिन सूर्यको परिक्रमा गर्ने गरेको पनि सुनाइन् । “मेरो हिँडाइको गतिलाई अलिकति मात्र ढिलो वा छिटो बनाएँ भने सूर्य देवताले मलाई आफूतिर तानेर मलाई जलाइदिने छन् । म खरानी हुने छु । मसँगै मेरो शरीरमा बस्दै आएका सबै प्राणी पनि खरानी हुने छन्,” पृथ्वीले भनिन् ।
पृथ्वीले विनोदलाई “तिमी आफैँ भन तिम्रा लागि सबैलाई समस्यामा पार्नु राम्रो हो त ?” भनेर सोधिन् । विनोदलाई पृथ्वीले भनेको कुरा ठिक लाग्यो । आफ्नो स्वार्थ पूरा गर्न वरदान मागेको अनुभव विनोदले गरे । बरु पृथ्वीले चिसोबाट बच्न न्यायो लुगा लगाउने, तातोमा बस्नेलगायतका सुझाव दिइन् । अनि विनोदले भने, “पृथ्वी माता, हजुरले भन्नुभएको कुरा ठिक हो । मैले आफ्नो स्वार्थ पूरा गराउन सबैको जीवन अन्त्य गरिदिनु हुँदैन । त्यसैले चिसोबाट जोगिने उपाय अपनाउने छु ।”