• १७ माघ २०८१, बिहिबार

छिरेश्वरनाथ नगरपालिकाका १४० परिवारलाई लालपुर्जा वितरण

blog

गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिँदै । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, माघ १५ गते ।
धनुषाको छिरेश्वरनाथ नगरपालिकामा एक सय ४० परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ । साबिक सखुवा महेन्द्रनगर गाविस वडा नं. ३ देखि ९ तथा हाल छिरेश्वरनाथ नगरपालिका ३,४ र ६ मा वर्षौदेखि भोगचलन गर्दै आएका परिवारलाई सो गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको नगर प्रमुख सुखदेव यादवले बताउनुभयो ।
नगर प्रमुख यादवले आफ्नो कार्यकालको सुरुदेखि नै गाउँब्लक जग्गामा वर्षौंदेखि बसोबास गरिरहेकाहरूको लगत सङ्कलन गरी लालपुर्जा वितरण गर्ने अभियान थालिएको जानकारी दिनुभयो । यसले भूमिहीन भएर बसिरहेका बासिन्दाको जीवनमा महत्त्वपूर्ण परिवर्तन ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी, छिरेश्वरनाथ नगरपालिका–६, का वडाध्यक्ष विनोदप्रसाद गुप्ताले पुस्तौदेखि भोगचलन गर्दै आएका गाउँब्लक जमिनका लागि गरिएको सङ्घर्ष र कर्मचारीको मेहनतका कारण यो सफता मिलेको बताउनुभयो । लालपुर्जा पाएपछि स्थानीयले खुसी व्यक्त गर्दै आफ्नो पुर्ख्याैली जग्गाको कानुनी स्वामित्व प्राप्त भएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

लालपुर्जा वितरणका अवसरमा भूमि आयोग धनुषाका अध्यक्ष सुरेश कोइराला, नापी कार्यालय धनुषाका कर्मचारी, विभिन्न वडाका जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।