साथीहरू, पुसमा चिसो ह्वात्तै बढ्छ । जाडोयाममा स्कुलले प्रायः १५ दिनदेखि एक महिनासम्म बिदा दिने गर्दछन् । मेरो स्कुलले पनि १५ दिनको बिदा घोषणा गरेको छ । प्रायः विद्यार्थीलाई ‘बिदा’ शब्द मन पर्छ । त्यसैले बिदा दिने भन्नासाथ हामीलाई खुसी लाग्छ । जाडोको छुट्टी भयो भन्दैमा सुतेर, खेलेर वा घुमेर मात्रै समय व्यथित गर्नु हुँदैन । बिदाको समय भए पनि नियमित दिनचर्यालाई निरन्तरता दिँदै हामी धेरथोक रमाइलो पनि गर्न सक्छौँ ।
अँ साच्चै ! तपाईंहरू जाडो बिदामा के गर्ने भनी सोचिरहनुभएको छ ? जाडो बिदामा सबैजसो स्कुलले गृहकार्य त दिएकै हुन्छन् । म चाहिँ सबैभन्दा पहिले गृहकार्य गरिसक्छु । सिनेमा हेर्न मन पर्ने भएकोले बाबाममीसँग हलमा गएर सिनेमा हेर्ने विचार गरेकी छु । स्कुल जानु नपर्ने भएकाले दिनभर घर बस्न पनि अल्छी लाग्छ नि है ? त्यसैले बिदामा आमाबुवा वा आफन्त वा साथीसँग उद्यान, सङ्ग्रहालय, आफन्तकहाँ घुम्न जान सकिन्छ । बिदाको समय आफन्तकहाँ गई चिनजान र भेटघाट गर्नु पनि राम्रो हुन्छ । त्यसले सम्बन्धलाई नजिक बनाउँछ । सहरमा हुनेहरू गाउँघरतिर र गाउँमा हुनेहरू सहरमा घुम्न जाँदा झन् रमाइलो हुन्छ । जहाँ नयाँ नयाँ कुरा देख्न र सिक्न पाइन्छ । परिवारसहित अलि टाढाको पर्यटकीय क्षेत्रको भ्रमणमा पनि जान सकिन्छ । बिदामा घरमै बसेर मोबाइल, कम्प्युटर र टेलिभिजन हेरेर मात्रै समय व्यथित नगरौँ । बिदाको समय भएकाले अघिपछि गर्न नपाएका काम गरौँ । मोबाइल, कम्प्युटर र टिभी हेर्न नमिल्ने त होइन तर थोरै समय त्यसका लागि दिनु पर्छ । कार्टुन वा गीत सङ्गीत वा सिनेमाभन्दा ज्ञानवर्धक सामग्री हेर्नु उचित हुन्छ । त्यहाँबाट पनि हामीले धेरै कुरा सिक्न सक्छौँ । बरु आमालाई भान्सामा सघाउने र खानेकुरा बनाउन सिकौँ । चित्र बनाउने, रङ लगाउने, नाचगान गर्ने, कथाका किताब र मुना जस्ता बालपत्रिका पढ्ने, घरका काममा पनि सघाउने, बगैँचा छ भने पानी हाल्ने, झार उखाल्ने काम गर्दा पनि हुन्छ । खेतीपाती हुनेहरूले परिवारलाई खेतको काममा सघाउने वा काम सिक्ने पनि गर्न सकिन्छ । ठुला दाइदिदीले त साइक्लिङ, टेनिस, ब्याडमिन्टन, स्किपिङ, फुटबल, भलिबल, क्रिकेट जस्ता खेल पनि खेलिरहनुहुन्छ । अनि उहाँहरू साथी साथी मिलेर घुम्न पनि जानुहुन्छ । हामी साना साथीले घरभित्रै बसेर चेस, क्यारम, लुडो, रूमाल लुकाई खेल्न सक्छौँ । नभए युट्युबमा हेरेर घरभित्र पनि रमाइला खेल खेल्न सकिन्छ । हजुरबुवा, हजुरआमा हुनुहुन्छ भने उहाँहरूबाट पुराना कुरा वा लोककथा सुनेर पनि रमाइलो गर्न सकिन्छ ।
कोठा सफा राख्ने, लुगा पट्याउने, ससाना लुगा र जुत्तामोजा आफैँ धुने गर्छु । अनि म त आफूलाई मन पर्ने केही परिकार पनि आफैँ बनाएर खाने र परिवारका अरू सदस्यलाई पनि खुवाउने गरेको छु । कहिलेकाहीँ त ममीबाबाको अफिस जाँदा पनि हुन्छ । मन्दिर, गुम्बा, मस्जिद पनि घुम्न जान सकिन्छ । चिडियाखाना, जङ्गलमा घुम्न जाँदा झन् धेरै कुरा देख्न सकिन्छ । कथा, कविता, निबन्ध आदि लेख्न सिक्दा पनि हुन्छ । त्यसले हामीहरूको लेखाइमा सुधार हुनुका साथै सिर्जनशील बनाउन मद्दत गर्छ । चिसोमा मोजा, पन्जा, कान छोप्ने टोपी, स्वेटर, ज्याकेट लगाउनुहोला । तातो पानी नियमित रूपमा पिउनुहोला । बिदामा पढ्दै, सिक्दै, खेल्दै, रमाइलो गरी आमाबाबुलाई दुःख नदिई जाडो बिदाको सदुपयोग गरौँ है त साथीहरू ?