साथीहरू, जाडो मौसममा काठमाडौँमा निकै चिसो हुन्छ । बिहान र बेलुकी त अझ बढी चिसो हुन्छ । हुन त देशभरि नै चिसो हुन्छ । तराईंमा शीतलहरले गर्दा धेरै दिनसम्म घाम नै देख्न पाइँदैन । घाम देख्न नपाउँदा चिसो अत्यधिक बढेर मानिसले आगो ताप्न मात्र चाहन्छन् । १२ महिनामा सबैभन्दा बढी चिसो पुसमा नै हुन्छ । चिसोले गर्दा विद्यालय जान निकै कठिन हुन्छ । त्यसैले चिसोबाट विद्यार्थीलाई जोगाउन जाडोमा बिदा दिने गरिएको हो । पुसमा देशका सबै विद्यालय बन्द हुन्छन् ।
जाडोमा आगो बढी तापिने भएकाले प्रदूषणको मात्रा पनि बढ्न जान्छ । यसले गर्दा हावाको गुणस्तरमा समस्या देखा पर्दछ । जाडोमा विद्युत्को प्रयोग पनि निकै बढ्छ । नदी सुक्छ । यसले गर्दा विद्युत् उत्पादन कम हुन्छ । पहिले पहिले त १६ घण्टासम्म पनि लोडसेडिङ हुन्थ्यो । अहिले लोडसेडिङ हटे पनि जाडोमा बत्ती गइरहन्छ ।
जाडो बिदामा घरमा बसेर के गर्ने कसो गर्ने भनी छटपटी पनि हुन सक्छ । चिसोले गर्दा कतै जान मन पनि नलाग्न सक्छ । जुनबेला पनि आगो ताप्न पाए हुन्थ्यो वा सिरकभित्र सुतिरहन पाए हुन्थ्यो भन्ने पनि लाग्न सक्छ । जाडो बिदालाई सदुपयोग गर्नु पर्छ । नियमित विद्यालय जानु नपरे पनि घरमा व्यस्त रहने प्रयास गर्नु पर्छ । नयाँ कुरा सिक्नु पर्छ । परिवारसँग समय बिताउन पाइने भएकाले परिवारका ज्येष्ठ सदस्यबाट नैतिक शिक्षा, असल संस्कारलगायतका बारेमा सिक्न पाइन्छ । आफ्ना रुचिलाई पनि यसबेला प्रयोगमा ल्याउन सकिन्छ ।
जाडो बिदा व्यक्तित्व विकासका लागि उत्कृष्ट अवसर हो । यो समयमा हामी पुस्तक पढ्न, लेख्न वा नयाँ सिप सिक्न सक्छौँ । किनेर वा अनलाइनबाट प्राप्त गरेर पुस्तक पढ्न सकिन्छ । सिर्जनात्मक कार्य जस्तै चित्रकलामा समय दिन सकिन्छ । विद्यार्थीका लागि जाडो बिदा कठिन विषय अध्ययन गर्न उपयुक्त हुन सक्छ । अध्ययनमा ध्यानकेन्द्रित गर्न सकिन्छ । वार्षिक परीक्षाको तयारीका लागि पनि यो समय उपयुक्त हुन्छ ।
यो समयमा परिवारसँग पुनः सम्बन्ध गाँस्न सकिन्छ । अभिभावक, हजुरबुवा, हजुरआमा, दाजुभाइ, दिदीबहिनी, केही पुस्ता परसम्मका आफन्तलगायतसँग समय बिताउन सकिन्छ । जसले गर्दा सम्बन्धलाई अझ बलियो बनाउँछ । साथीहरूसँग पनि सम्बन्ध बलियो बनाउन सकिन्छ । नजिकका पर्यटकीय स्थलमा यात्रामा जान पनि सकिन्छ ।
अरू बेला दैनिक व्यस्त रहनु पर्छ । त्यो बेला आफ्ना रुचिलाई समय दिन भ्याउँदैनौँ । चित्रकला, फोटोग्राफी, बगैँचामा काम गर्न, खाना पकाउन, सिलाइबुनाइ गर्न, साहित्यिक सिर्जना गर्न रुचाउँछौँ । जाडो बिदाको समयमा हामीलाई सिर्जनात्मक हुन र तनाव कम गर्न मद्दत गर्दछ । जाडोले मानिसलाई अल्छी बनाउँछ । यस समयमा स्वास्थ्यप्रति बेवास्ता गर्नु हुँदैन । स्वस्थ रहने अभ्यास जस्तै बिहानको हिँडाइ, योग वा घरमै कसरत गर्न सकिन्छ । विभिन्न खेल पनि खेल्न सकिन्छ । यसले गर्दा मानिसको स्वास्थ्य राम्रो हुनुका साथै ऊर्जाशील बन्न मद्दत मिल्छ ।
अरू मौसममा विद्यालय जानुपर्ने भएकाले निकै दौडधुप हुन्छ । भ्याइनभ्याइ हुन्छ । पढाइको बोझ र तनाव बढी हुन्छ । विश्राम र दिमागलाई शान्त राख्ने काम भुलेका हुन्छौँ । जाडो बिदाले हामीलाई शान्त रहुनका लागि समय दिन्छ । त्यसबेला हाम्रा विचार र भावना बुझ्न सक्छौँ । ध्यान गर्ने समय हामीले पाउँछौँ । दैनिक डायरी लेख्न सक्छौँ । अझ हिउँपर्ने स्थानमा बसोबास छ भने बेला बेलामा चिया वा कफी पिउँदै पुस्तक पढ्नुको मजा अलग हुन्छ । आरामदायी र आनन्ददायी क्षणले शरीरलाई हलुको बनाइदिन्छ ।
यो समयमा सामाजिक कार्य गर्न पनि सकिन्छ । आश्रममा गई स्वयंसेवकका रूपमा काम गर्न सकिन्छ । गरिबलाई न्यानो लुगा वा तातो खानेकुरा दिएर सन्तुष्टि पाउन सकिन्छ । आगामी वर्षको योजना पनि यसैबेला बनाउन सकिन्छ । जे होस् बिदालाई भरपुर सदुपयोग गरौँ । सामान्य रूपमा दिन बिताउनुभन्दा कुनै सिर्जनात्मक काम गर्न सकियो भने त्यसले हामीहरूको बौद्धिक तथा व्यक्तित्व विकासमा सहयोग मिल्छ ।