• १५ माघ २०८१, मङ्गलबार

जापानको ओसाकाद्वारा सडकमा धूमपान गर्न प्रतिबन्ध

blog

टोकियो, माघ १४ गते । यस वर्षको विश्व एक्सपोअघि थप आगन्तुक–मैत्री बन्ने प्रयासको एक हिस्साका रूपमा जापानी सहर ओसाकाले सोमबार सार्वजनिक सडकहरूमा धूमपानमा प्रतिबन्ध लगाएको छ ।

एक्सपो २०२५ मा लगभग १६० देश र क्षेत्रहरूले भाग लिइरहेका छन् । यो प्रत्येक पाँच वर्षमा विभिन्न विश्वव्यापी स्थानहरूमा आयोजित कार्यक्रमको नवीनतम संस्करण हो ।

“विश्व एक्सपो अप्रिलमा सुरु हुँदैछ । हामी संसारभरका धेरै मानिसलाई स्वागत गर्न चाहन्छौँ, त्यसैले हामी ओसाकालाई यस्तो सहर बनाउन चाहन्छौँ जहाँ मानिसहरूले धुवाँमुक्त सडकहरूमा सुरक्षित महसुस गर्छन्”, मेयर हिदेयुकी योकोयामाले जनवरीको सुरुमा भन्नुभयो ।

सोमबारअघि ओसाका स्टेसन वरपरका क्षेत्रसहित छ वटा क्षेत्रमा धुम्रपानमा प्रतिबन्ध लगाइएको थियो । यो सम्पूर्ण सहरमा विस्तार गरिएको छ र उल्लङ्घनकर्तालाई एक हजार येन (६.४० डलर) जरिवाना लाग्नेछ ।

स्थानीय नियमहरूले पहिले नै जापानका धेरैजसो स्थानमा हिँड्दा धूमपान गर्न प्रतिबन्ध लगाएका छन् तर केही सांसदहरूको विरोधले कडा राष्ट्रिय कानुनहरू बन्न रोकेको छ ।

अप्रिलदेखि विस्तृत ओसाका क्षेत्रले ३० वर्गमिटर (३२० वर्गफिट) भन्दा ठुलो बस्ने क्षेत्र भएका भोजनालयहरूमा धूमपान गर्न प्रतिबन्ध लगाउनेछ । यद्यपि धूमपान कक्ष जस्ता छुट्टै स्थानमा धूमपान गर्न अनुमति दिइएको छ ।

हालको राष्ट्रिय कानुनले एक सय वर्गमिटरभन्दा बढीको भोजन क्षेत्र भएका प्रतिष्ठानहरूमा धूमपान गर्न प्रतिबन्ध लगाउँछ । एक्सपो २०२५ ले ढिलो टिकट बिक्री र निर्माण बजेटमा सार्वजनिक चिन्ताका साथ सङ्घर्ष गरिरहेको छ ।

छ महिने कार्यक्रमका लागि जनवरीको सुरुसम्म लगभग ७५ लाख टिकट बिक्री भएको थियो । यो आयोजकहरूको लक्ष्यको आधा हो ।

टोकियो ओलम्पिकको तयारीका लागि सन् २०१८ मा राजधानीले सबै रेस्टुरेन्टमा धूमपान निषेध गरेको थियो । टोकियोका केही जिल्लामा बाहिर धूमपान गर्न अझै अनुमति छ ।

जापानको केन्द्रीय र स्थानीय सरकारहरूले चुरोट करबाट वार्षिक लगभग २० खर्ब येन (१३ अर्ब डलर) कमाउँछन् । विश्वको तेस्रो ठुलो सुर्तीजन्य कम्पनी जापान टोबाकोमा पनि राष्ट्रिय सरकारको एकतिहाइ हिस्सा छ ।

व्यापक विश्वव्यापी प्रवृत्तिसँगै जापानमा सुर्तीजन्य पदार्थको प्रयोग घट्दै गएको छ । सन् २०२३ मा धूमपान गर्नेहरूको अनुपात १५ दशमलव सात प्रतिशत छ । रासस/एएफपी