• १७ माघ २०८१, बिहिबार

चन्द्रपुर र गुजरा जोड्ने लमाहा खोलाको पुल निर्माण अधुराे

blog

चन्द्रपुर र गुजरा नगरपालिका जोड्ने लमाहा खोलाको अधुरो पुल । तस्बिर : यादवराज पुरी

यादवराज पुरी

रौतहट, माघ १२ गते । ठेकदारको लापरवाही र ठेक्का प्रदायक संस्थाको उदासिनताको कारण चन्द्रपुर र गुजरा नगरपालिका जोड्ने लमाहा खोलाको पक्की पुल एक दशक बित्न लाग्दा पनि अधुरो अवस्थामा छ । 

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले पप्पु-शिवशङ्कर जेभी गरुडा, रौतहटलाइ ठेक्का लगाएको लमाहा खोलाको उक्त पुलको निर्माणमा ठेक्का प्रदायक संस्थाले बेलाबेलामा निरीक्षण, अनुगमन र नियन्त्रण नगरेपछि ठेकदारको लापरवाहीले पुल अलपत्र परेको हो । 

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले पप्पु-शिवशङ्कर जेभी गरुडा, रौतहटलाई ठेक्का लगाएको लमाहा खोलाको उक्त पुलको निर्माण सम्पन्न गर्न पाँच पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । 

‘प्रिस्ट्रेस्ड आरसिसी’ ढलानयुक्त एक सय २५ मिटर लामो उक्त पुलको निर्माण सम्झौता २०७३ साल जेठ २ गते भएको थियो । २०७५ साल असोज १५ गते भित्र निर्माण सम्पन्न गर्नु पर्ने उक्त पुल ठेकदारको लापरवाही र डिभिजन सडक कार्यालयको उदासिनताको कारण अलपत्र छोडेको जनगुनासो छ । 

गुजरा नपा कोठियारटोलका समाजसेवी युवा राजकुमार कटुवाल भन्नुहुन्छ, “पुल बन्ने आसमा करिब दस वर्ष बित्यो । अब त आस पनि मरिसक्यो । पुल निर्माण गर्न आवश्यक निर्माण सामग्री व्यवस्थापन गर्न र विद्युतीय काम गर्न विद्युतशक्ति समेत प्रदान गरियो तर हालसम्म न पुल बन्यो न विद्युतको महसुल नै प्राप्त भयो । निर्माण सामग्री रेखदेख गरेबापत दिने भनिएको तीन वर्षदेखिको ज्याला समेत नदिई ठेकदार बेपत्ता भएको छ ।” 

पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले गरेको कामको बेलाबेलामा सडक डिभिजनले अनुगमन तथा निरीक्षण नगरेपछि ठेकदारको मनोमानीले समयमा पुल निर्माण सम्पन्न हुन नसकेको स्थानीय सञ्चारकर्मी रामप्रकाश चौधरी बताउनुहुन्छ । उहाँका अनुसार ठेकदारको लापरवाही र ठेक्का प्रदायक संस्थाको उदासिनताको कारण पुल अधुरो रहेको नगरवासीको गुनासो छ ।

पुल निर्माण कार्य पुरा गर्न कार्यालयले निर्माण कम्पनीलाई पाँच पटक म्याद थप गरेको जानकारी दिनुहुँदै डिभिजन सडक कार्यालयका सूचना अधिकारी शिवनारायण साह भन्नुहुन्छ, “उक्त पुल निर्माणको जिम्मा पाएको कम्पनीले एकै समयमा छ ओटा पुल निर्माणको ठेक्का पाएको थियो जसको कारण कार्यभार बढेर लमाहा पुल समयमा सम्पन्न हुन नसकेको हो । उक्त पुलको मूल्य अभिवृद्धि करसहित नौ करोड २२ लाख ७७ हजार ५५९ रुपियाँमा ठेक्का सकार भएको थियो । 

कार्यालयले निर्माण कम्पनीलाई पाँच करोड ४५ लाख ४५ हजार ८२८ रुपियाँ भुक्तानी गरिसकेको छ । अधुरो पुलको कारण स्थानीयले घुमाउरो बाटो प्रयोग गर्नु परेको कारण निकै सास्ती भोगिरहेका छन् ।”

पुल समयमा नबन्दा खेतबारीमा काम गर्न जानआउन र उत्पादित खाद्यान्न तथा तरकारी ढुवानी गर्न समस्या भोगेका गुजरा नगरपालिकाको रङ्गपुर र कोठियारका किसानले पुल निर्माण कार्य शीघ्र सम्पन्न गर्न माग राख्दै ठेकदारले निर्माण कार्य सुरु नगरेमा कारबाही प्रकृया अघि बढाई वैकल्पिक बाटो खोज्न कार्यालयलाई आग्रह गरेका छन् ।