अविनाश चौधरी
धनगढी, माघ ११ गते । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीमाथि सहज जित निकालेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको सुपरफोर चरणको खेलमा एपिएफले आर्मीलाई ६९ रनले पराजित गरेको हो । एपिएफको जितमा रेखा रावलले आर्मीको एक्लै चार विकेट लिएर प्लेयर अफ द म्याचको उपाधि जित्नुभयो ।
टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित १७ ओभर खेल्दै तीन विकेटको क्षतिमा ११५ रन बनाएको थियो । एपिएफका लागि राजमती ऐरीले ३५, कविता जोशीले ३४, कप्तान इन्दु बर्माले १८ र ममता चौधरीले ११ रनको योगदान दिनुभयो ।
बलिङ गर्दै आर्मीका लागि सुस्मिता भुषालले दुई र ईश्वरी विष्टले एक विकेट लिनुभयो । जवाफी ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरको अन्तिम बलमा अलआउट हुँदै ४६ रनमात्रै बनाउन सक्यो । आर्मीका लागि राधिका पुजाराले १७ र लक्ष्मी साउँदले १० रन बनाउनुभयो ।
बलिङतर्फ एपिएफका रेखा रावलले चार, सबनम राईले दुई र कप्तान इन्दु बर्माले एक विकेट लिएर आर्मीको खेललाई धराशयी बनाउनुभएको थियो । सुपरफोरको अर्को खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् ।