नेपाल बहुधर्म र संस्कृतिले परिपूर्ण देश हो । यहाँ हरेक जाति र जनजातिका आआफ्नै धर्म, संस्कृति र रीतिरिवाज छन् । हालैका दशकमा बढ्दो शहरीकरण, पाश्चात्य संस्कृतिको अन्ध अवलम्बन र वैदेशिक पलायनले गर्दा कतिपय सांस्कृतिक क्रियाकलाप लोपोन्मुख अवस्थामा पुगेको देखिन्छ ।
दुई दशकअगाडिसम्म विवाह प्रायः रातिको लगनमा हुन्थ्यो । यसका कारण यातायातको असुविधाले गर्दा घरबाट दुलाहा अन्भाएर दुलहीघर गर्ई त्यहाँको सम्पूर्ण वैवाहिक कार्य सकेर दुलही भित्र्याउन घर आइपुग्न समय नपुग्नाले नै हुन सक्छ । यसो भएपछि दुलाहा पक्ष राति दुलहीका घरमै बस्थ्यो । प्रायः पुराना जमानामा जन्तीमा पुरुष नै जान्थे । दुलाहाघर तथा घरगाउँले महिला रातभरि दुलाहाघरमा बसेर ठट्यौला, रमाइला र मनोरञ्जनात्मक नाट्य र नृत्यका प्रस्तुति गर्थे । मूलतः यिनै रमाइला वैवाहिक प्रस्तुतिलाई रत्यौली, रतेउली वा रतेली भन्ने गरिन्थ्यो ।
विवाहका अवसरमा दुलही लिन गएको अवस्थामा दुलाहाका घरमा प्रायः नारी मात्र रहेका बेला उन्मुक्त भएर गरिने गायन, नृत्य र अभिनयात्मक प्रस्तुतिलाई नै रत्यौली लोकनाटक भनिन्छ । पुरुषले रत्यौलीमा सहभागी भए उनको आयु घट्छ भन्ने पनि हाम्रो लोकमान्यता रहिआएको छ । रातिको लगनमा विवाह हुने हुँदा बेहुलाको घरमा प्रायः रातभरि रत्यौली खेलिन्थ्यो ।
रत्यौलीमा महिलाले पुरुषको भेष धारण गरी लोग्नेस्वास्नीको अभिनय गर्दै विभिन्न किसिमका हँस्यौली, अभिनय प्रस्तुत गर्दथे । आलिङ्गन, चुम्बन तथा सुहागरातको समेत अभिनय गरिने भएकाले कतिपय अवस्थामा रत्यौली लोकनाटक अश्लील जस्तो पनि लाग्छ ।
प्रायः महिला मात्र जम्मा भई रत्यौली खेल खेलिन्छ तर कतिपय स्थानमा किशोर पनि भेला भएका देखिन्थे तर उनीहरू केवल दर्शक मात्र हुन्थे ।
अचेल कतै कतै पार्टी प्यालेसमा पनि रत्यौली भनेर नाचगान गरिएको पाइएको छ तर त्यहाँ रत्यौलीको परम्परागत पहिचान गुमेको हुन्छ । यो केवल रमाइलोका लागि मात्र गरिने कार्य भएको छ, त्यसमा रत्यौलीको मूल मर्म हुँदैन । यस्तो कार्यक्रम विवाह दिनको लगनमा भएकाले दिउँसो पनि आयोजना गरिएको देखिन्छ र त्यो छोटो समयमा मात्र क्षणिक रमाइलोका लागि मात्र हुन्छ ।
मूलतः परम्परागत रत्यौली दुलाहाघरको आँगन वा नजिकैको फराकिलो स्थानमा आयोजना गर्ने गरिन्थ्यो । महिलाले पुरुषको भेष धारण गरी नवविवाहित श्रीमान् श्रीमतीको अभिनय गर्नु रत्यौलीको मूल विशेषता हो । नृत्य, गायन र अभिनयसहितको प्रस्तुति, ठट्यौली, नाट्याभिनयका लोकप्रस्तुति रत्यौलीका चलनचल्तीका कर्म हुन् । महिलाले दौरा सुरुवाल, ढाकाटोपी, कम्मरमा खुकुरी र कालो चस्मा लगाई रत्यौली गाउँदा त्यहाँको रौनक नै अविस्मरणीय हुन्थ्यो ।
मूलतः परम्परागत रत्यौली तीन भागमा सिर्जना गरिएको हुन्छ । पहिलो चरणमा दुलाहापक्ष दुलही लिन दुलहीघरमा गएको परिवेशको रमाइलो चित्रण गर्दै अभिनयसहितको प्रस्तुति गरिन्छ । बेहुला सिँगार्ने परिघटनासमेत यो चरणमा समावेश हुन्छ । यो अवस्थामा वैवाहिक कार्यक्रमका ससाना झलक गीत तथा अभिनयात्मक शैलीमा प्रस्तुत गरिन्छ । बेहुला अन्भाउने परिवेशका प्रस्तुति पनि यो चरणमा प्रस्तुत हुन्छ ।
जब दुलहीलाई उसका माइतीले अन्भाएपछिको अवस्था दोस्रो चरणमा समेटिन्छ । भित्रिएकी बेहुलीले सासूससुरालाई गर्ने व्यवहार, कमीकमजोरी तथा अवस्था अनुसार उदाहरणसहितका बिलौना पनि यो चरणमा समेटिन्छन् । दुलाहाले दुलहीलाई सुसुरालीघरबाट आफ्नो घरमा ल्याउँदासम्म र दुलहीघरमा भित्र्याउँदा गरिने विधिविधान पनि दोस्रो चरणमा अभिनयसहित प्रस्तुत गरिन्छ । यो रत्यौली लोकनाटकको मध्य भाग हो । यो अवस्थामा दुलाहा दुलहीका बीचमा हुने प्रेमालापका केही नाट्यप्रस्तुति पनि समेटिन्छन् ।
सुसुरालीघर र आफ्नो घरबीचको सम्बन्ध विस्तार, विवाहपछि दुलहीले निर्वाह गर्नुपर्ने कर्तव्य तथा दुलाहाको जिम्मेवारी आदिको वर्णन पनि बडो रमाइलोसित गरिन्छ । अन्त्यमा नवविवाहित जोडीलाई शुभ आशीर्वचन प्रदान गर्ने शैलीयुक्त प्रस्तुतिपछि रत्यौली समापन हुन्छ । अन्तिम चरण पूर्ण रूपमा श्लील र मर्यादित हुन्छ । वैवाहिक जीवन ऊर्जाशील बनोस्, सन्तानको यश र कीर्ति फैलियोस् र परिवारमा सदा सुख शान्ति छाओस् भन्ने अभिप्रायका प्रस्तुति रत्यौलीको अन्त्यमा गरिन्छन् ।
हाम्रो मौलिक परम्परा रहेको रत्यौली आज पूर्णतः लोपोन्मुख अवस्थामा छ । बचेखुचेका रत्यौलीसित सम्बन्धित गतिविधि पनि केवल खानपान र भद्दा मजाकका रूपमा देखिन थालेका छन् । तिजको परम्परा आज आडम्बर प्रदर्शन गर्ने अवसर भए जस्तै रत्यौलीका बाछिटा पनि आजको तिजका गतिविधिलाई नै पछ्याउँदै गएको देखिन्छ । दुलाहादुलहीको पारिवारिक अवस्थाको चित्रण पनि वास्तविक रत्यौलीमा हुन्छ भने रमाइला भाखामा मानव जीवनका दैनन्दिनका परिघटना समेटिएको पाइन्छ ।
नेपालका सुदूर गाउँमा बेहुला अन्भाएपछि महिलाहरू मादल र झ्याली बजाउँदै मुजुराको तालमा नाचेको दृश्य अब इतिहास भइसकेको छ । दुईदिने विवाह प्रणाली नै रत्यौलीको स्वर्णयुग थियो भन्न सकिन्छ भने रातको प्रहर अनुसार रत्यौलीका चरण र भाखाहरू पनि फेरिँदै जान्छन् । जब महिलाले पुरुषको भेष धारण गरी सुहागरातको अभिनय गर्छन् त्यो रत्यौली लोकनाटकको चरमसीमा हो भन्न सकिन्छ । यो बेलामा कतिपय अवस्थामा अश्लील हाउभाउ पनि प्रदर्शन हुन सक्छ ।
लाहुरे तथा जोगी भनिने पुरुष बनेका महिलाले गर्ने नाट्य अभिनय औधी रमाइलो र मनोरञ्जक हुन्छ । यौवनका चिह्नहरू चढ्दै गएका युवतीले उन्मुक्त वातावरणमा हाँसो मजाकयुक्त नृत्य अभिनयसहित प्रस्तुत गर्ने रत्यौली औधी मनमोहक हुन्थ्यो ।
दुलही बुहारी बनिसकेपछि उसले निर्वाह गर्नुपर्ने भूमिका रत्यौलीको अर्को सार्थक पक्ष हो । अर्को रमाइलो पक्ष के पनि छ भने बिहान हुन थाल्दा रत्यौलीमा भाग लिने पात्रहरू विवाहघरका सबैलाई आशिष दिई बिदा भए पनि भरे बेहुली भित्र्याउँदा पुनः आई बेहुलीको स्वागत गर्छन् । यो हाम्रो संस्कृतिको अत्यन्त सार्थक पक्ष हो तर यो परम्परा हराइसकेको छ ।
दुलाहा अन्भाएपछि बलेको बत्ती दुलही भित्र्याउन्जेलसम्म निभ्नु हुँदैन भन्ने हाम्रो लोकविश्वास छ । यही विश्वासलाई साकार पार्न अर्थात् दुईदिने विवाहमा रातभर कोही पनि ननिदाउन्, जसले गर्दा बत्ती ननिभोस् भन्ने मनसायले रत्यौली लोकनाटक प्रादुर्भाव भएको मान्न सकिन्छ । रातमा गरिने कर्म भएकाले नै यो रत्यौली भएको मान्यता लोकसंस्कृतिविद् डा. कुसुमाकर न्यौपानेको रहेको छ ।
महिला मात्रको उपस्थितिका कारण त्यहाँ जस्तासुकै प्रस्तुति गर्न कुनै बन्देज तथा सङ्कोच नहुने भएकाले महिलाहरू निष्फिक्री रत्यौली मनाउँछन् । मध्यरातको खानपिनको व्यवस्थापन पनि दुलाहाघरले गरेको हुन्छ । दुलाहाघरमा बलेको बत्ती निभ्यो भने अपसकुन आउँछ र यो अवस्था आउन नदिन रत्यौली नाचिन्छ । नवविवाहित जोडीको दाम्पत्य जीवन सफल रहोस् भन्ने अर्थमा पनि रत्यौलीको प्रयोग हुन्छ ।
मादल र अन्य वाद्यवादनका सामग्री नभएका खण्डमा घरमा भएका गाग्री तथा थालबटुका ठटाएर भए पनि झर्रा गीतमा अभिनय गर्दै रमाउने परम्परालाई डिजिटल रूपमा मात्र पनि जोगाउन सके भावी पुस्तालाई इतिहास बुझ्न निकै सरल हुन्थ्यो भन्न सकिन्छ ।