• २७ पुस २०८१, शनिबार

अन्धविश्वासप्रति विद्रोह बोल्ने चरैवेति

blog

मान्छे एउटा अविश्वासलाई कुल्चेर फेरि अर्को अविश्वासमा पर्छ र त्यसले जीवन जिउने आधारलाई पनि असर गर्छ । पछिल्लो समय बजारमा आएको जीवन जीवन्तको उपन्यास चरैवेतिको सार हो यो । उहाँको उपन्यासमा धार्मिक आस्था र त्यसले जीवनमा पार्ने प्रभावको अन्धविश्वासी पक्षलाई सुकोमल ढङ्गबाट प्रस्ट पारेको देखिन्छ ।

उपन्यासका मुख्य पात्रले धार्मिक आस्थाकै कारण भोग्नु परेको दर्दनाक कष्ट उपन्यासको विषयवस्तुका रूपमा देखाइएको छ । घरमा कुलदेवता पुज्दैमा परिवारको दीर्घायु नहुँदो रहेछ भन्ने मानसिकताको विकास भएपछि उनी परिवार, गाउँ, समाज सबैबाट लखेटिएका छन् । आफँैले कुलदेवता पुज्दा पनि एक महिनाबिचमा दुई छोरीको मृत्यु भएपछि आफूले मान्दै आएको हिन्दु धर्मप्रतिको आस्थामा विश्वास गुमेको छ । मानिसमा हुने अमानवीय गुण सङ्कटमा देखिन्छ र त्यसलाई आफन्तले समेत नबुझेपछि उक्त व्यक्तिमा आउने वितृष्णाले उसले समाजसँग नै भाग्नु परेको कष्टकर जीवनशैली उपन्यासमा देखाइएको छ । 

परिवारमा सन्तानको सन्तापभन्दा पनि बढी परम्परादेखि मान्दै आएको आस्थालाई कुल्चिएको पिरलो बढी छ । छोरीहरूको मृत्युपश्चात् मुख्य पात्रले पूजाकोठामा देवता भनेर पुज्दै आएको ढुङ्गा फालेपछि उनलाई बुवा र भाइले आस्थामा कुल्चिएको नाममा घृणा गरेका छन् । सन्तान गुमाउनुको पीडा र परिवारको तिरस्कार सहन नसकेर गाउँ छाडी तराई बसाइँ सरेपछि उनीप्रति परिवारले गर्ने व्यवहारमा रतीभर सकारात्मक परिवर्तन आएको छैन । 

नेपाली साहित्यमा इसाई धर्ममाथि विपथन गरेर लेखिएको उपन्यास चरैवेतिमा मुख्य पात्र तराई झरेपछि रहरले नभई कतै सान्त्वना पाइन्छ कि भन्ने आशामा आफ्नो पुरानो धार्मिक मान्यतालाई त्यागेर इसाई धर्मप्रति नपत्याउँदो शैलीमा लागेका छन् । उनले मनदेखि आफू इसाई धर्मको पछि नलागेको भने पनि र अन्तस्करणमा हिन्दु धर्मको आस्था नमरे पनि बाइबलको उपासना गर्न थालेका छन् । तावाबाट उफ्रिएर तातोभन्दा बाहिर पुग्छु कि भन्ने माछा फेरि भुङ्ग्रोमा परेको जीवन सन्दर्भ उपन्यासमा देखाइएको छ । 

नेपालमा पछिल्लो समय धर्म परिवर्तनका नाममा भइरहेको लालसापूर्ण प्रचार र त्यसले समाजमा पारेको असरलाई पनि उपन्यासले राम्रोसँग केलाएको छ । उपन्यासका पात्र ठुले राई, माहिला विश्वकर्मा, उसैको ससुराली परिवार अर्थात् मुख्य पात्रको छिमेकी बन्न आएको घिमिरे थरको परिवारले बाइबलको आस्था र विश्वास बुझेर भन्दा पनि समाजले उनीहरूप्रति गरेको व्यवहारको बदला लिन धर्म परिवर्तन गरेको बुझिन्छ । मुख्य पात्र पनि त्यही भुङ्ग्रोमा परेका छन् । उनी परिवारलाई हैन हैन भन्छन् तर जानीनजानी बाइबलको प्रचारमा लागिसकेका छन् । पछिल्लो समय नेपालमा इसाई धर्मको प्रचारका लागि सबैभन्दा सहज उपाय भनेको समाजले गरेको अपहेलना र हिन्दु धर्ममाथिको अन्धविश्वासलाई आधार बनाइएको छ भन्ने कुरा प्रस्ट देखाइएको छ उपन्यासमा । 

मानिसको अस्तित्व के हो र त्यसलाई धर्ममा जोडेर मानिसले कसरी दुःख पाएका छन् भन्ने कुरा उपन्यासको विषयवस्तु बनाइएको छ । मानवीय मूल्यमान्यतालाई जीवित राख्न पुरानो कुराको विनाश गर्नुभन्दा पनि उक्त मान्यतालाई नवीन तरिकाले व्याख्या गर्नुपर्ने आजको आवश्यकता हो । मानिसले हिजो पढ्दै, भोग्दै, जान्दै आएका विभिन्न आस्थालाई नवीन शैलीमा प्रस्तुत गरी त्यसलाई मानवीय गुण, संवेदना, वैज्ञानिक चेतनासँग जोड्न जान्नु पर्छ । नेपालीहरू आस्थाको भ्रममा नै भएर आज पनि अविकसित जीवनशैली बिताइरहेका छन् । युरोप र अमेरिकाले जुनै धर्म माने पनि आफूलाई विकासको चरणविन्दुमा पुर्‍याइसकेको छ । त्यसैले आस्था कुन भन्दा पनि जीवनको यथार्थ के भन्ने कुरामा जोड दिनु पर्छ भन्ने सन्दर्भ उपन्यासको चरमोत्कर्षका रूपमा प्रस्तुत गरिएको छ । 

उपन्यास पढ्दै गर्दा डायरी ३ मा उल्लेख गरिएको लिम्बू जातिलाई नेपाली राजनीतिले गरेको व्यवहारलाई व्याख्यात्मक शैलीमा प्रस्तुत नगरेको भए पनि उपन्यासलाई असर गर्दैनथ्यो । लेखकले यस कुरामा चाहिँ केही ध्यान दिनु पथ्र्याे कि ? त्यसले उपन्यासको सलल बगेको शैलीलाई कहीँकतै थोरै असर गरेको देखिन्छ । त्यस्तै सुरुका कुनै प्रसङ्गमा पनि उल्लेख नगरिएको समख्याताको काइँला काका अर्थात् मुख्य पात्रको काइँला भाइलाई उपन्यासको अन्त्यतिर उपस्थित गराइएको छ । ‘अन्त्यअघि’ शीर्षकमा ‘हजुरबुबाको मृत्यु पहाडमा नै भयो । उहाँ काइँला काकासँग नै बस्नुहुन्थ्यो । उहीँ उहाँको मृत्यु भयो ।’ भन्ने वाक्य रहेका छन् । यसका आधारमा हेर्ने हो भने नयाँ पात्रलाई कसरी उपस्थित गराइयो ? त्यसपछि पनि काइँला काकाको सन्दर्भ कहीँ नभएकाले लेखक यहाँनिर चिप्लिएका छन् । त्यस्तै यिनै वाक्यहरूमा पहिलो र तेस्रो वाक्यमध्ये एउटा वाक्य मात्र भए हुन्छ । हजुरबुवाको मृत्यु भएको कुरा दुवै वाक्यमा उल्लेख गर्न आवश्यक थिएन । यस्ता केही वाक्य र सन्दर्भ अन्य स्थानमा पनि छन् । लेखकले पुस्तकको अर्को संस्करणमा यस्ता कमजोरी हटाउन आवश्यक देखिन्छ । 

नेपाली विषयमा नै विद्यावारिधि गरेका उपन्यासकारले उपन्यासमा पनि कहीँकतै समालोचकीय भाषाको प्रयोग गरेका छन् । शुद्धताका पक्षमा पनि केही त्रुटि रहेका छन् । वाक्य गठनमा समेत पदसङ्गति नमिलेका केही वाक्य रहेका छन् । उखानको प्रयोग गरिए पनि कुनै कुनै उखान नदिए पनि वाक्य पुष्टि हुने थियो भन्ने कुरा उपन्यास पढ्दै जाँदा देखिन्छ । यी सामान्य त्रुटिलाई छाड्ने हो भने धर्मप्रति अन्धभक्त समाजको राम्रो चिरफार गरी जीवन बुझ्न कुनै पनि विषयवस्तुको गहिरो अध्ययन र विश्लेषण हुनु पर्छ भन्ने पक्षको सुन्दर व्याख्या पाइन्छ । 

उपन्यासमा मुखपात्रका रूपमा उभ्याइएका मास्टर काइँलाको माध्यमबाट धर्म, विज्ञान, जीवन, भ्रम, विश्वास, यथार्थ आदि पक्षको विश्लेषण गर्दै कुनै आस्थामा लाग्नै नहुने होइन आफूले विश्वास गरेको आस्थाको पनि आलोचना गर्नु पर्छ र त्यसमा भएको अन्धविश्वास हटाउन सक्नु नै आजको मानवीय जीवनको मुख्य गुण हो भन्ने धारणालाई उभ्याइएको छ ।  

 

Author

निसान निष्कर्ष